मध्यपुर थिमि, १ जेठ २०८२:
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनअनुसार भक्तपुर जिल्लाभित्र सबैभन्दा कम बेरुजु देखिएको पालिका मध्यपुर थिमि नगरपालिका रहेको छ। आर्थिक अनुशासन र पारदर्शिताको दृष्टिकोणले यो उपलब्धि महत्त्वपूर्ण मानिएको छ।
प्रतिवेदन अनुसार मध्यपुर थिमि नगरपालिकाको बेरुजु रकम ३ करोड ८० लाख १८ हजार रुपैयाँ मात्र रहेको छ। भक्तपुर जिल्लाका अन्य तीन पालिकाको तुलनामा यो सबैभन्दा कम हो।
जिल्लामा सबैभन्दा धेरै बेरुजु चाँगुनारायण नगरपालिकामा देखिएको छ, जसको बेरुजु ५ करोड २१ लाख ९७ हजार रुपैयाँ पुगेको छ। त्यसपछि सूर्यविनायक नगरपालिकाको ५ करोड ३ लाख ७८ हजार र भक्तपुर नगरपालिकाको ४ करोड ४३ लाख ५६ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ।
महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वित्तीय अनुशासन कायम राख्न कति आवश्यक छ भन्ने देखाएको छ। मध्यपुर थिमिको कम बेरुजुले आर्थिक सुशासनप्रति नगरपालिका गम्भीर रहेको संकेत गर्छ।