काभ्रेपलाञ्चोक, १ जेठ २०८२ः
देशभरका ७५३ स्थानीय तहमध्ये काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका एक मात्र यस्तो स्थानीय सरकार बनेको छ, जसको बेरुजु लगातार दोस्रो वर्ष शून्य देखिएको छ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा महाभारत गाउँपालिकाले कुनै पनि बेरुजु नराखी सम्पूर्ण सार्वजनिक खर्च नियमसंगत रूपमा सञ्चालन गर्न सफल भएको हो।
गत वर्ष पाँच, यस वर्ष एकमात्र
गत आर्थिक वर्षमा महाभारत सहित पाँच वटा स्थानीय तहको बेरुजु शून्य थियो। तीमध्ये ताप्लेजुङको पाथीभरा याङवर, पाँचथरको याङवरक, धादिङको बेनीघाट रोराङ, र ललितपुरको कोन्ज्योसोम गाउँपालिका थिए। तर, यो वर्ष तीमध्ये कसैले पनि शून्य बेरुजु कायम राख्न सकेनन्।
सफलताको आधार: पारदर्शिता र प्रतिबद्धता
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार यस्तो सफलता जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, पारदर्शिता र जिम्मेवारीप्रति प्रतिबद्धताका कारण सम्भव भएको हो।
उनका अनुसार गाउँपालिकाका कर्मचारीहरूलाई सार्वजनिक खरिद ऐन, नियमावली र स्थानीय सार्वजनिक वित्तीय ऐनको गहिरो जानकारी दिइएको छ। “हामीले सबै काम योजना, विधि र जवाफदेहिताको आधारमा गरेका छौं,” अध्यक्ष जिम्बाले भने।
कान्छा उमेरका अध्यक्ष, दुवै कार्यकालमा सफलता
कान्छालाल जिम्बा पहिलो स्थानीय तह निर्वाचनमा देशकै कान्छा अध्यक्षको रूपमा निर्वाचित भएका थिए। हाल उनी दोस्रो कार्यकाल सम्हाल्दै छन्। माओवादी केन्द्रबाट उम्मेदवार बनेका जिम्बा दुबैपटक जनमतले विजयी भएका हुन्।
प्रेरणादायी उदाहरण
देशभर संघ, प्रदेश र स्थानीय तह गरी ७६१ वटा सरकार छन्। तीमध्ये अधिकांशको बेरुजु करोडौं रुपैयाँमा पुगेको छ। यस्तो अवस्थामा महाभारत गाउँपालिकाले देखाएको अनुशासन र वित्तीय अनुशासन अन्य स्थानीय तहका लागि उदाहरणीय अभ्यास बन्नसक्छ।