भक्तपुर, ६ जेठ २०८२ः
पत्रकारहरूमाथि बढ्दो असुरक्षा, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप तथा संचार क्षेत्रका मुद्दाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेस सेन्टर नेपाल भक्तपुरले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ। प्रेस सेन्टर भक्तपुरका अध्यक्ष मदन ढुङ्गानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई उक्त ज्ञापनपत्र बुझाएको हो।
अध्यक्ष ढुङ्गानाका अनुसार केन्द्रको निर्देशनअनुसार देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत भक्तपुर शाखाले विविध कारणले केही ढिलो गरी मंगलबार मात्र ज्ञापन बुझाएको हो।
ज्ञापनपत्रमा पत्रकारहरूको पेशागत तथा भौतिक सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरिएको छ। साथै, जनयुद्धकालमा वेपत्ता पारिएका कृष्ण सेन इच्छुकदेखि हालै राजावादी आन्दोलनको क्रममा मारिएका पत्रकार सुरेश रजक सम्मका हत्यामा संलग्न दोषीहरूलाई अझै कानुनी दायरामा ल्याउन नसकिएकोप्रति प्रेस सेन्टरले गम्भीर आपत्ति जनाएको छ। त्यस्तै, बेपत्ता पत्रकार मिलन नेपालीलगायतको अवस्थाबारे यथाशीघ्र जानकारी दिनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि संकुचन गर्न ल्याइएका विधेयकहरू फिर्ता लिन र संचार क्षेत्रसँग सम्बन्धित कानून निर्माणमा सरोकारवालासँग समन्वय गरी अघि बढाउन पनि सरकारसँग आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले ज्ञापनपत्रमा उठाइएका विषयहरू आफ्ना कार्यक्षेत्र भन्दा बाहिरका र केन्द्रसँग सम्बन्धित भएकाले गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे।
प्रेस सेन्टर नेपाल भक्तपुरले पत्रकारहरूको अधिकार, सुरक्षा र स्वतन्त्रताको संरक्षणका लागि आवाज उठाउँदै सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको स्पष्ट पारेको छ।
