नेपालमै पहिलोपटक मष्तिष्क मृत दाताबाट एकै व्यक्तिमा सफल कलेजो र मृगौला प्रत्यारोपण

भक्तपुर , २१ जेठ २०८२: रत्न काजी प्रजापती

नेपालमा अंग प्रत्यारोपण सेवाको क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक एब प्रत्यारोपण टोलीका प्रमुख डा पुकार श्रेष्ठका अनुसार पहिलोपटक मष्तिष्क मृत अंगदाताबाट प्राप्त कलेजो र मृगौला एउटै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। शिव महर्जनमा यो सफल प्रत्यारोपण गरिएको हो।

यो ऐतिहासिक प्रत्यारोपण २०८२ साल जेठ १ गते (२०२५ मे १५) सम्पन्न गरिएको हो। केन्द्रका अनुसार यो उपलब्धिले नेपालमा प्रत्यारोपण सेवाको विश्वसनीयता र क्षमतामा नयाँ उचाइ थपेको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापना भएको १३ वर्षको अवधिमा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ। २०६८ फागुनमा स्थापना भएको यस केन्द्रले २०६९ सालमा डायलाइसिस सेवा, त्यसपछि मृगौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण, कार्डियाक सर्जरी लगायतका सेवा विस्तार गर्दै आएको छ।

केन्द्रका अनुसार हालसम्म देशभर हुने दुई तिहाइभन्दा बढी मृगौला र कलेजो प्रत्यारोपण यही संस्थाबाट सम्पन्न भएका छन्। यस केन्द्रमा मानव अंग प्रत्यारोपण ऐन २०७२ र त्यसपछिको नियमावली अनुसार पियर एक्सचेन्ज, मष्तिष्क मृत दाताबाट अंग प्रत्यारोपण लगायतका जटिल प्रक्रिया पनि सफलतापूर्वक  सम्पन्न हुँदै आएका छन्।

२०८१ सालदेखि सुरु गरिएको एक वर्षे प्रत्यारोपण फेलोसिप कार्यक्रमले यस क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई थप दक्षता प्रदान गर्ने लक्ष्य लिएको छ।

नेपालमा अंग दान र प्रत्यारोपणप्रति जनचेतना फैलिँदै गएसँगै यस्तो महत्वपूर्ण उपलब्धिले चिकित्सा क्षेत्रलाई आत्मनिर्भर बनाउने दिशामा सकारात्मक संकेत दिएको केन्द्रको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!