भक्तपुरमा डिजिटल एक्स्पोसम्बन्धी तालिम सम्पन्न, उद्यमी व्यवसायीको उत्साहजनक सहभागिता

भक्तपुर, ११ जेठ २०८२ः

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा हुन गइरहेको दोस्रो डिजिटल एक्स्पोअन्तर्गतको तयारीस्वरूप भक्तपुरमा आइतबार एकदिने तालिम सम्पन्न भएको छ। तालिमको आयोजना भक्तपुर उद्योग वाणिज्य संघले गरेको हो।

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले डिजिटल कारोबारको महत्व झनै बढ्दै गइरहेको वर्तमान परिवेशमा डिजिटल एक्स्पोले विक्रेता र ग्राहक दुबैका लागि प्रभावकारी प्लेटफर्म हुने विश्वास व्यक्त गरिन्। उनले उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धनका लागि डिजिटल एक्स्पोमा सहभागी हुन उद्यमीहरूलाई आग्रहसमेत गरिन्।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका महासचिव दुर्गाराज श्रेष्ठले डिजिटल एक्स्पो उद्यमशीलता प्रवर्द्धन गर्ने माध्यम भएको बताए। उनका अनुसार जेठको अन्तिम सातादेखि सुरु हुने उक्त एक्स्पोमा विभिन्न क्षेत्रका व्यवसायी उद्यमीले अनलाइनमार्फत स्टल बुकिङ गर्न सक्नेछन्।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, महासंघ बागमती प्रदेशको साना तथा मझौला उद्योग समितिकी सभापति लक्ष्मी खनाल, संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, मेला समितिका संयोजक रञ्जित मारिखू लगायतले डिजिटल प्लेटफर्म अहिलेको आवश्यकता भएको धारणा राखे।

तालिमका प्रशिक्षक सौरभ चालिसेले डिजिटल व्यापार मेलामा स्टल बुकिङ, उत्पादन विवरण राख्ने, अर्डर व्यवस्थापन तथा डिजिटल मार्केटिङका विषयमा सहभागीहरूलाई विस्तृत जानकारी दिएका थिए। तालिममा विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!