प्राधिकरणको राष्ट्रिय कार्ययोजना तयार, जेठ १४ गते कार्यान्वयनमा जाने
काठमाडौँ, ११ जेठ २०८२ः
यस वर्षको मनसुनबाट देशभर करिब २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम पूर्वानुमानको आधारमा तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ मा यो अनुमान उल्लेख गरिएको हो।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार मनसुनले मुलुकभर असर पार्ने भएकाले केन्द्रदेखि स्थानीय तहसम्म जिम्मेवारी तोकिएको छ। उनका अनुसार करिब ४ लाख ५० हजार घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् भने तीमध्ये १० प्रतिशतलाई उद्धार तथा राहत आवश्यक पर्न सक्छ।
“हामीले मौज्दात सामग्री, सम्भावित जोखिम र आवश्यक तयारीलाई ध्यानमा राखेर कार्ययोजना तयार गरेका छौँ,” प्रवक्ता केसीले भने।
उक्त कार्ययोजना यही जेठ १४ गते गृहमन्त्रीको अध्यक्षतामा बस्ने कार्यकारी समितिको बैठकमा प्रस्तुत गरिनेछ र सोही बैठकबाट पारित भई कार्यान्वयनमा ल्याइनेछ।
यसपटकको कार्ययोजनामा प्रत्येक महिनामा विपद् अवस्थाको अनुगमन, मूल्याङ्कन तथा समीक्षा गरिने व्यवस्था गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशभर सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार अधिकतम तथा न्यूनतम तापक्रम पनि औसतभन्दा बढी रहनेछ।
विभागका अनुसार कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनीको उत्तरी क्षेत्र र गण्डकीको अधिकांश भूभागमा ५५–६५ प्रतिशतसम्म बढी वर्षाको सम्भावना छ। यस्तै, सुदूरपश्चिम, बागमती, कोशी प्रदेशको केही भागमा ४५–५५ प्रतिशत र मधेसको पूर्व तथा दक्षिणी क्षेत्रमा ३५–४५ प्रतिशतसम्म बढी वर्षाको सम्भावना रहेको छ।
प्राधिकरणले सरोकारवाला निकायहरूसँग समन्वय गर्दै जोखिम न्यूनीकरण र प्रतिकार्यलाई प्रभावकारी बनाउने लक्ष्यसहित कार्ययोजना तयार पारेको जनाएको छ।