भरतपुरमा सशक्त पोल्ट्री उद्योगसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

चितवन, १५ जेष्ठ २०८२ः
शिब बराल/रत्न काजि प्रजापति

पोल्ट्री उद्योगको दिगोपनासँगै आर्थिक समृद्धिको मार्गचित्र कोर्ने उद्देश्यले भरतपुरमा एकदिने अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ। “Resilient Poultry Industry: Adapting for Sustainability and Economic Success” शीर्षकमा आयोजित कार्यशाला नेपाल भेटेरिनरी पोल्ट्री एसोसिएसन (NVPA) र Indian Poultry Review (IPR) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यशालामा नेपाल र भारतका पोल्ट्री विज्ञ, उद्यमी, नीति निर्मातालगायत १०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको विशिष्ट अतिथि IPEMA तथा Poultry India का अध्यक्ष उदय सिंह व्यास र कृषि तथा वन विश्वविद्यालयका पूर्व कुलपति प्रा. डा. आई. पी. ढकाल रहनुभएको थियो। प्रमुख वक्ताका रूपमा DUVASU, मथुराका पोल्ट्री विज्ञान विभाग प्रमुख तथा Indian Poultry Science Association का अध्यक्ष प्रा. डा. पी. के. शुक्लाले पोल्ट्री क्षेत्रमा दिगोपनाका नवीनतम उपायहरूबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो।

कार्यशालामा नेपालमा पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे डा. दिनेश गौतम र प्रा. डा. सुबीर सिंहले प्रस्तुति दिनुभयो। दिगो फिड प्रविधि र वातावरणमैत्री उत्पादन प्रणालीबारे प्रा. डा. ए. एस. राणाडेले प्रकाश पार्नुभयो। पोल्ट्रीमा देखिने संक्रामक रोग र तिनको नियन्त्रणसम्बन्धी विषयमा डा. विजय कुमार श्रेष्ठ र प्रा. डा. रेबन्त कुमार भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

पानी व्यवस्थापनलाई दिगो पोल्ट्री खेतीको आधारका रूपमा प्रस्तुत गर्दै डा. सन्तोष एम. आइरेले आफ्नो विचार राख्नुभयो भने प्रविधिमा आधारित निर्णय प्रणालीबारे सेपिएन्स ग्रुपका प्रशान्त कुमारले कार्यशाला समक्ष व्याख्या गर्नुभयो। बिहार पोल्ट्री किसान संघका अध्यक्ष डा. पवन कुमारले भारतीय किसानको अनुभव प्रस्तुत गर्नुभएको थियो।

नेपाल–भारत बीच पोल्ट्री क्षेत्रमा नीति समन्वय, प्रविधि हस्तान्तरण र संयुक्त अनुसन्धानमा सहकार्यका सम्भावनाबारे विशेष प्यानल छलफल पनि कार्यक्रमको विशेष आकर्षण रह्यो।

कार्यक्रमलाई सफल बनाउन Poultry India, KVD Group, SKA, ZEUS Biotech, Sapience, GLAMAC South Asia र Yaashvan Veterinary Services जस्ता संस्थाहरूको सहयोग रहेको थियो।

“Knowledge Review” शृङ्खलाको दोस्रो संस्करणका रूपमा आयोजित यो अन्तर्राष्ट्रिय कार्यशालाले नेपाल–भारतबीचको ज्ञान आदानप्रदान, नीति विकास र उद्योगमैत्री सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। यसअघि “Knowledge Review” शृङ्खलाको पहिलो संस्करण सन् २०२४ अक्टोबर ५ मा काठमाडौंमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!