नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण

काठमाडौं, २९ जेठ २०८२:

नेपाल मेडिसिटी अस्पतालले आफ्नो चिकित्सा यात्रामा ऐतिहासिक उपलब्धि थपेको छ। अस्पतालमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण सम्पन्न भएको हो। पोखराका ५६ वर्षीय ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरेको हो भने कलेजो उनका २६ वर्षीय छोरा आयुष कार्कीले दान गरेका हुन्। जेठ ८ गते सम्पन्न यो प्रत्यारोपण चिकित्सा इतिहासको महत्वपूर्ण मोड सावित भएको छ।

कलेजो प्रत्यारोपण विश्वमै जटिल मानिने शल्यक्रिया मध्ये पर्छ। यसमा विशेषज्ञहरूको ठूलो बहु-विषयगत टोली आवश्यक पर्छ। कार्कीको प्रत्यारोपणमा दाताको शल्यक्रियामा ९ घण्टा र प्राप्तकर्ताको शल्यक्रियामा १३ घण्टा लागेको थियो। भारतको प्रसिद्ध अमृता अस्पतालसँग सहकार्य गर्दै मेडिसिटीका चिकित्सक टोलीले प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरे।

छोरा आयुष भन्छन्, “हामी दुई पटक भारत गएका थियौं तर त्यहाँ सन्तोषजनक सल्लाह पाइएन। नेपालमै उपचार सम्भव छ भन्ने थाहा पाएपछि हामी नेपाल मेडिसिटीमा आएं र यहीं प्रत्यारोपण गर्ने निर्णय गर्यौं। समय र पैसाको बचत पनि भयो।”

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोका अनुसार, “नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सफल हुनु हाम्रो बहु-विषयगत दक्ष टिमकै कारण सम्भव भयो। हाम्रो उद्देश्य नेपालीलाई देशमै गुणस्तरीय सेवा उपलब्ध गराउनु हो।”

नेपालमा वार्षिक २०० देखि ३०० जनाले कलेजो प्रत्यारोपण आवश्यक पर्ने देखिएको छ। तर, एम्बेसी अफ नेपाल, डिल्लीका अनुसार, सन् २०२३–२४ मा मात्रै ७० भन्दा बढी नेपालीले भारतमा कलेजो प्रत्यारोपण गराएका छन्। यस अवस्थालाई बदल्ने दिशामा मेडिसिटीको पहल उल्लेखनीय छ।

ग्यास्ट्रोइन्टेरोलोजी विभाग प्रमुख डा. उमिद कुमार श्रेष्ठका अनुसार, “ईश्वरबहादुर कार्कीको मिर्गौला र कलेजो दुवै काम गर्न छाडेका थिए। उनीमा पेटमा पानी जम्ने, होस हराउने, रगत वान्ता हुने लगायत गम्भीर लक्षण देखिएका थिए। जोखिमपूर्ण अवस्थाका बाबजुद कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।”

कलेजो बिग्रँदा मिर्गौला पनि प्रभावित भएकाले, कलेजो प्रत्यारोपणपछि मिर्गौलामा सुधार देखिएको चिकित्सकहरूको भनाइ छ। कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहका अनुसार, “हामीले सुरुमा जोखिमका बारेमा स्पष्ट जानकारी दिएका थियौं र पछि मात्रै मिर्गौलामा पनि हस्तक्षेप गर्ने योजना बनाएका थियौं। लामो समयसम्म उपचारको खोजीमा दौडिएका बिरामी र परिवारको विश्वासले यो कार्य सफल भयो।”

नेपाल मेडिसिटी अस्पतालले हालसम्म ४५ वटा सफल मिर्गौला प्रत्यारोपण, ५०० भन्दा बढी हिप तथा जोर्नी प्रत्यारोपण गरिसकेको छ। अब कलेजो प्रत्यारोपणको सफल थालनीले यो अस्पतालले अन्तर्राष्ट्रियस्तरको सेवा देशमै उपलब्ध गराउने प्रतिबद्धता अझ सुदृढ बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!