काठमाडौँ, २९ जेठ २०८२ः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडान प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाको वडा नं. १ देखि ९ सम्म सौर्यबत्ती जडान गर्नका लागि दुई करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, बदनियतपूर्वक उक्त बजेटलाई टुक्र्याएर पाँचवटा प्याकेज बनाई खम्बा, सोलार प्यानल, लाइट, तार, नटबोल्ट, ब्याट्री तथा चार्ज कन्ट्रोलर खरिद गरिएको पाइएको छ।
अनियमित ढंगले प्रक्रिया अघि बढाइएर दुई करोड ५३ लाख १७ हजार रुपैयाँ बराबरको अनुमान स्वीकृत गरी तीन वटा कम्पनीबीच मात्र प्रतिस्पर्धा हुने गरी बोलपत्र आह्वान गरिएको थियो। सो क्रममा गाउँपालिकाले दुई करोड ४९ लाख ४० हजार रुपैयाँ विभिन्न आपूर्तिकर्ता कम्पनीहरूलाई भुक्तानी दिएको अख्तियारको दाबी छ।
यस अनियमितता प्रकरणमा आयोगले तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सबइञ्जिनियर सन्तोष राय र राजु रायलगायतलाई सोही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो।
त्यस्तै, लेखा अधिकृत शिवशङ्करप्रसाद कुशवाहाविरुद्ध ४७ लाख ४९ हजार रुपैयाँ, स्काई राइज ट्रेडिङ कन्सर्नका सञ्चालक जयप्रकाश यादवविरुद्ध ५८ लाख ३९ हजार, एसके स्टोर्स मलङ्गवाका सञ्चालक रञ्जुकुमारी साहविरुद्ध ९५ लाख २३ हजार, र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसनकी सञ्चालक सङ्गीताकुमारीविरुद्ध ९५ लाख ७६ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार दोषीहरूमाथि सार्वजनिक कोषको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाइएको हो।