नेपालको बन्यजन्तुको इतिहासमै कुनै पनि जङ्गली जनावरको शल्यक्रिया गरेर बच्चा जन्माइएको यो नै पहिलो घटना हो,” डा. बिजय कुमार श्रेष्ठ
खोरसोर (सौराहा), फागुन २५, २०७९ ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीले ब्यथा लागेर पनि छावा जन्माउन नसके पछि शल्यक्रिया गरि छावा जन्माईएको छ। नेपालको बन्यजन्तुको इतिहासमै पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको हो ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेका हुन। क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आउनुभएका बेला यो घटना भएपछि उहाँको समेत सहयोग लिइएको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिनुभयो । डा.अमिर सडौला, विकल्प कार्की, बन्यजन्तु प्राबिधिक किरन रिजाल सहितको टिम हात्तीको शल्यक्रियामा संलग्न हुनुहुन्थ्यो ।
“दुई दिनदेखि बेथा लागेर गण्डकीकलीले छावा जन्माउन सकेकी थिइन । चिकित्सकको टोलीले शल्यक्रिया गरेर छावा निकाल्यो,” शल्यक्रियामा संलग्न डा. बिजय कुमार श्रेष्ठले बताउनु भयो।
“नेपालमा अहिलेसम्म कुनै पनि जङ्गली जनावरको शल्यक्रिया गरेर बच्चा जन्माइएको थिएन । यो नै पहिलो घटना हो,” डा. श्रेष्ठले भन्नुभयो।
“शल्यक्रिया गर्ने क्रममा हात्तीलाई चिर्ने ठाउँमा नदुख्ने र लट्ठ्याउने औषधि दिइएको छ। बच्चा पेटमै अड्किएपछि हामीले हात्तीको पुठो र योनीको बीचमा करिब २० सेन्टिमिटर चिरेर बच्चा निकालेका हौँ । केही दिन पाठेघरबाट फोहोर पानी निस्किएपछि चिरिएको घाउ दुई चार दिनमा सिलाइने छ। ” डा. श्रेष्ठलेपनि जानकारी दिनुभयो ।
शल्यक्रिया गरेर बच्चा जन्माइएको गण्डकीकली २५ वर्षकी हो । यो उसको दोस्रो बेत हो । यसअघि करिब तीन वर्षअघि पनि हात्तीको छावा अड्किएर डोरी लगाई निकालिएको थियो । त्यस बेला छावा बचाउन नसकिएको डा. श्रेष्ठले बताउनुभयो ।
“बच्चा उल्टो रैछ । अगाडिको खुट्टा पहिला आउनुपर्नेमा पछाडिको खुट्टा पहिला निस्कँदा समस्या भयो,” डा. श्रेष्ठले भन्नुभयो । यो बच्चा ठीक ‘पोजिसन’मा नहुँदाको समस्या हो । अहिले नयाँ जन्मिएको छावाले पनि तत्काल श्वासप्रश्वास नगरेपछि त्यसलाई चिकित्सकले केहीबेर सुँडबाट कृत्रिम श्वास दिएर बचाइएको छ । केहीबेरको कृत्रिम श्वासप्रश्वासपछि छावा अहिले स्वस्थ रहेको पनि चिकित्सकले बताएका छन् ।
२०४२ मा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा २०५४ सालयता ६२ वटा छावाछावी जन्मिएका छन् । हात्ती गर्भवती भए पत्ता लगाउने पनि प्रजनन केन्द्रका कर्मचारीमा आफ्नै ज्ञान छ । २० वर्षदेखि प्रजनन केन्द्रमै माउते पदमा कार्यरत चतुरलाल चौधरीले भन्नुभयो, “गर्भवती हात्ती भाले लागेको तीन÷चार महिनामै स्तन बढेर आउँछ । शरीर मोटाउँछ अनि २२ देखि २४ महिनामा बच्चा जन्मन्छ ।”
