न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःद्वारा जेष्ठ नागरिक लक्षित सीपमूलक तालिम सम्पन्न

मध्यपुर थिमि, ३ असार २०८२ः – केके मानन्धर

न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित क्षमता अभिवृद्धि तथा सीप विकास तालिम सम्पन्न गरेको छ। तालिमको समापन कार्यक्रम मध्यपुर थिमि–२ स्थित कुमारी पार्क, बोदेमामा आयोजना गरिएको थियो।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयको लागत साझेदारीमा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय नुरज बज्राचार्य, वडा नं. २ का अध्यक्ष रमेश थापा श्रेष्ठ तथा नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले संयुक्त रूपमा ४२ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे।

कार्यक्रमकै अवसरमा मिसा ग्वहालि पुचःको स्थापनादेखि सक्रिय भुमिका निर्वाह गर्दै आएकी प्रमिला बज्राचार्यलाई सम्मान पनि गरिएको थियो।

समूहकी अध्यक्ष शिला सायमिका अनुसार तालिम अन्तर्गत लप्ते (नेवारी भोजमा प्रयोग हुने पातका भाँडा), डोला, बोटा तथा सुकुल बनाउने जस्ता परम्परागत हस्तकला सम्बन्धी सीप दिइएको हो। उनले भनिन्, “जेष्ठ नागरिकहरू छोराबुहारी र नातीहरूमा निर्भर नहुने गरी आंशिक आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको हो।”

तालिममा ६० वर्षमाथिका हजुरआमाहरू सहभागी भएका थिए, जसमा ८२ वर्ष उमेर नाघेका दुई पटकसम्म भिमरथारोहण गरिसकेका सहभागीसमेत रहेका थिए।

तालिममा ललितपुर थसिस्थित सुजाता महर्जनले सुकुल बुन्ने तथा काठमाडौंकी पटनादेवी रञ्जितले लप्ते बनाउने तालिम प्रदान गरेका थिए।

वैशाख ७ गते सुरु भई जेठ ३० गतेसम्म सञ्चालन गरिएको तालिम असार ३ गते समापन गरिएको हो।

न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले विगत १० वर्षदेखि जेष्ठ नागरिकहरूका लागि दिवा हेरचाह सेवा प्रदान गर्दै आइरहेको छ। संयुक्त परिवारमा बसोबास गरे पनि छोराबुहारी आ–आफ्नो काममा व्यस्त हुने तथा नाती–नातिनीहरू विद्यालय जाने हुँदा जेष्ठ नागरिकहरू घरमा एक्लो हुने अवस्था भएकाले समूहले उनीहरूलाई भेला गरी कथा, संवाद र घुमफिरको माध्यमबाट मनोबल उच्च राख्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

हालै समूहले ‘रु. १०० अभियान’ अन्तर्गत जेष्ठ नागरिक सामुदायिक भवन निर्माणको उद्देश्यसहित प्रतिव्यक्ति रु. १०० संकलन गर्ने अभियानसमेत सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!