पश्चिम नवलपरासी, ४ असार २०८२ः
पश्चिम नवलपरासीको बर्दघाटमा गरिब, विपन्न तथा संकटमा परेका परिवारलाई लक्षित गर्दै ‘कपडा बैङ्क’ स्थापना गरिएको छ। बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा बर्दघाट जेसिजले ‘क्लोथ बैंक नेपाल’ सँगको सहकार्यमा कपडा बैङ्क स्थापना गरेको हो।
बर्दघाट जेसिजका अध्यक्ष मोहन सापकोटाका अनुसार प्रयोगमा नआएका पुराना कपडा तथा जुत्ताहरू सङ्कलन गरी सफा गरेर पुनःप्रयोग योग्य बनाइ वितरण गर्ने उद्देश्यका साथ यो पहल थालिएको हो। “घरघरमा थन्क्याइएका तर अझै प्रयोग गर्न सकिने कपडाहरूलाई संकलन गरेर आवश्यकता भएकाहरूलाई हस्तान्तरण गर्न बैङ्क स्थापना गरिएको हो,” अध्यक्ष सापकोटाले बताए।
कपडा बैङ्कको स्थापनामा सहयोग गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले भने, “सामाजिक सेवाको सन्दर्भमा अत्यन्तै प्रभावकारी हुने यो अभियानले संकटग्रस्त तथा विपन्न परिवारलाई सहयोग पुर्याउनेछ।”
२०७८ सालमा स्थापना गरिएको ‘क्लोथ बैङ्क नेपाल’ देशभरका १६५ भन्दा बढी स्थानीय तहमा विस्तार भइसकेको छ। अभिनेता राजेश हमाल संरक्षक रहेको यस संस्थाले अहिलेसम्म हजारौं व्यक्तिहरूलाई कपडा तथा आवश्यक सामग्री वितरण गरिसकेको छ।
जेसिजका महासचिव रविन शर्मा चापागाईका अनुसार पाँच थान कपडाहरू वितरणको लागि हाल तयारी अवस्थामा छन् भने वर्षभरिको सामाजिक सेवा कार्यतालिका अनुसार निरन्तर कार्यक्रमहरू सञ्चालन गरिनेछ।
स्थानीय तहमा कपडाको पुनःप्रयोग र निशुल्क वितरण प्रणालीलाई संस्थागत गर्दै अगाडि बढाइएको यो अभियानले सामाजिक उत्तरदायित्व र समावेशी सेवा प्रवाहमा नयाँ उदाहरण पेश गरेको छ।