काठमाडौं, ४ असार २०८२ः
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण गरिएको छ। संघीय संसद्को दुवै सदनबाट पारित उक्त विधेयक केही दिनअघि राष्ट्रपति समक्ष पेश गरिएको थियो।
विधेयक अनुसार नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन–अध्यापनको लागि स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने कानुनी प्रबन्ध गरिएको छ।
यसै अनुसार सरकारले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित गेटा मेडिकल कलेजको संरचना प्रयोग गर्दै “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय” स्थापना गर्ने निर्णय लिएको हो।
स्वास्थ्य शिक्षाको पहुँचलाई क्षेत्रीय रूपमा सन्तुलनमा ल्याउने उद्देश्यले अघि सारिएको यो विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रका विद्यार्थीहरूका लागि गुणस्तरीय चिकित्सा शिक्षा र अनुसन्धानमा नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ।
