काठमाडौँ, ४ असार २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ।
बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्रको रूपरेखा तथा प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल गरिएको थियो। आयोगमा राजनीतिक दलका प्रतिनिधि, विषयगत विज्ञहरू र निजी क्षेत्रका व्यक्तिहरूको मनोनयन चाँडै हुने जानकारी दिइएको छ। दोस्रो पूर्ण बैठक अर्को साता बस्ने तय गरिएको छ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन भएको यो आयोगमा १५ जना सदस्य रहने व्यवस्था छ। आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री राजकुमार गुप्तालगायतका शीर्ष सरकारी पदाधिकारीहरू सहभागी थिए।
सरकारी सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र दक्षता अभिवृद्धि गर्दै समग्र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोगले काम गर्ने बताइएको छ।