ग्वार्को ओभरपासको निरीक्षण : प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको स्थलगत अवलोकन

काठमाडौँ, ४ असार २०८२:

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले ललितपुरको ग्वार्कोस्थित निर्माणाधीन ओभरपासको स्थलगत निरीक्षण गरेको छ। आज (बुधबार) समितिका सभापति दीपक सिंहको नेतृत्वमा समिति सदस्यहरूले निर्माणको प्रगतिबारे अवलोकन गरेका हुन्।

समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले ओभरपासको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै केही साना कार्यहरू बाँकी रहेको उल्लेख गर्नुभयो। “निर्माणको धेरैजसो काम सम्पन्न भइसकेको देखियो। तर, लाइट जडान गर्नुपर्ने, सुरक्षा सुनिश्चित गर्न सिसी क्यामरा जडानलगायतका कार्यहरू बाँकी छन्,” उहाँले भन्नुभयो।

अनुगमनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत पदाधिकारीहरूसँग छलफल गरी बाँकी कार्य छिटो सक्न निर्देशन पनि दिइएको सापकोटाले जानकारी दिनुभयो।

यसैबीच, मन्त्रालयले आगामी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट ओभरपास उद्घाटन गर्ने तयारी गरेको जनाएको छ। लामो समयदेखि निर्माण भइरहेको यो परियोजनाको काम पटक–पटक म्याद थप गर्दै हाल अन्तिम चरणमा पुगेको हो।

विसं २०७८ फागुन १२ गते ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको उक्त ओभरपास परियोजना २०८१ साल पुस ८ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको थियो।

३० मिटर स्पानसहित चार लेनको सो ओभरपास आशिष–समानान्तर–रेलिगेर जेभी निर्माण कम्पनीले निर्माण गरिरहेको छ।

स्थानीयवासी तथा सरोकारवालाले ओभरपास सञ्चालनमा आएपछि ग्वार्को क्षेत्रमा रहेको सवारी चाप कम भई यातायात सहज हुने विश्वास लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!