दाउन्ने सडक खण्डमा गिट्टी बालुवा हालेर यात्रा सहज बनाउने प्रयास

नवलपुर, ५ असार २०८२ः

नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने खण्डमा यात्रा अत्यन्तै कठिन बनेपछि सडक विभागले तत्कालका लागि गिट्टी र बालुवा हालेर यात्रा सहज बनाउने प्रयास सुरु गरेको छ।

सडक विभागका निर्देशक चुडाराज ढकालसहितको टोलीले अनुगमन गरेपछि दुम्कीवासदेखि खुर्सानी खोला खण्डसम्म पाँच सय ट्रक बराबरको गिट्टी बालुवा हाल्ने निर्णय गरिएको हो। खाल्डाखुल्डी र चिप्लिने ठाउँमा पाँच हजार घनमिटर गिट्टी बालुवा हालेर रोलरले पेलेर दुई दिनभित्र काम सक्ने निर्देशन दिइएको छ।

निर्देशक ढकालले वर्षाको समयमा मर्मतबाहेक अन्य निर्माण कार्य सम्भव नरहेको बताए। हाल यात्रुहरू जाममा पर्नु परेको अवस्थामा अत्यावश्यक काम नपरी दाउन्ने भएर यात्रा नगर्न आग्रहसमेत गरिएको छ।

ढकालका अनुसार दशैंअघि नारायणघाट–बुटवल सडकको सम्पूर्ण ११४ किलोमिटर भाग कालोपत्रे सकिने छ। असहजताका बाबजुत चिनियाँ ठेकेदार कम्पनीलाई काममा निरन्तर लगाइराखिएको उनले बताए।

पश्चिम खण्ड प्रमुख शशांक मिश्रका अनुसार आगामी १० दिनभित्र समस्या हट्नेछ। विनयी खोलाको पुल असार १६ देखि सञ्चालनमा आउने र चिप्लो सडकमा फसेका ट्रक हटाउन तयारी अवस्थामा लोडर राखिएको जानकारी पनि उनले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!