काठमाडौं, ५ असार २०८२ः
चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने गैर-नेवार समुदायका तर नेपाल भाषा (नेवारी) बोल्न सक्ने व्यक्तिहरूलाई लक्षित गरी “चन्द्रागिरि नगरस्तरीय गैर-नेवार, नेपाल भाषा वक्तृत्वकला प्रतियोगिता” आयोजना गरिने भएको छ।
“चन्द्रागिरि नगरस्तरिय गैर नेवाः, नेपाल भाषा न्वचू घेघेबल्ला” नाम दिइएको उक्त प्रतियोगिता “चन्द्रागिरि नगरभित्र नेवारहरूको अवस्था (चन्द्रागिरि नगर दुने नेवा: तय्गु अवस्था)” शिर्षकमा २०८२ असार ७ गते, शनिवार बिहान १०:३० बजे नयाँ नैकापस्थित बन्थोक सामुदायिक भवन, चन्द्रागिरि नगरपालिका–१४ मा हुने आयजकले जानकारी दिएका छन्।
कार्यक्रमको उद्देश्य नेपाल भाषा सिक्ने र बोल्ने गैर–नेवार समुदायको उत्साह बढाउनुका साथै भाषिक विविधता र सहअस्तित्वलाई प्रोत्साहन गर्नु रहेको आयोजक संस्थाहरूले बताएका छन्।
प्रतियोगिता वी नेवार्स को आयोजनामा, चन्द्रागिरि नगरपालिकाको कार्यालय, च.न.पा.–१४ को वडा कार्यालय, चन्द्रागिरिका सम्पूर्ण वडा कार्यालय (१ देखि १५), बन्थोक भिंतुना समिति, नेवाः देय् दबू, ज्यापू महागुथि नेपाः, बन्थचा मिसा पुचः, र भर्सटायल ग्राफिक्स एण्ड एड्भर्टाइजिङ्ग को सहकार्यमा सम्पन्न हुँदैछ।
आयोजकले चन्द्रागिरि नगरपालिका भित्रका सबै गैर–नेवार, नेपाल भाषा बोल्न सक्ने प्रतिभावान व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
