मध्यपुर थिमि नगरपालिकाको पशुपन्छी विकास नीति: घरपालुवा जनावर सूचीकृत गरिने

मध्यपुर थिमि ९ असार २०८२:

मध्यपुर थिमि नगरपालिकाको १२औं नगर सभा अधिवेशनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आगामी वर्ष २०८२/८३ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पशुपन्छी व्यवस्थापन र पशुपालन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिइएको छ।

“स्वच्छ मासु, स्वस्थ जीवन” भन्ने नारासहित नगरभित्रको पशु बधस्थललाई वैज्ञानिक र व्यवस्थित ढंगले सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने भएको छ। मासु उपभोगको सुरक्षालाई ध्यानमा राख्दै गुणस्तरीय र स्वच्छ मासु उत्पादनमा जोड दिइएको हो।

नगर क्षेत्रमा छाडा चौपाया नियमन गर्ने र सामुदायिक कुकुरलाई रेबिज खोप तथा बन्ध्याकरणमार्फत व्यवस्थापन गरिने कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।

पशुपालनको विकासका लागि कृषक समूह, सहकारी तथा गैरसरकारी संघसंस्थासँग साझेदारीमा कार्यक्रमहरू सञ्चालन गरिनेछ। बाली तथा पशु बीमाको विषयमा जनचेतना बढाउने र रोग नियन्त्रणका लागि आवश्यक उपचार सेवामा विशेष प्राथमिकता दिइने उल्लेख छ।

नीतिमा उल्लेख गरिएको एक महत्वपूर्ण बुँदा अनुसार, घरपालुवा जनावरहरूलाई सूचीकृत गरेर व्यवस्थित बनाइनेछ। यसले नगरमा जनावरजन्य जोखिम व्यवस्थापन, उपचार सेवा र नियन्त्रण कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

पशुपालन व्यवसायलाई कानुनी रूपमा दर्ता गरी किसानलाई परिचयपत्रसहित सेवा तथा सुविधा प्रदान गरिने व्यवस्था गरिनेछ। यसले किसानको पहिचान स्पष्ट हुने र सरकारी सेवा तथा अनुदानमा पहुँच सजिलो हुने अपेक्षा गरिएको छ।

त्यस्तै, नगरभित्र पाइने चराचुरुङ्गी संरक्षणका लागि सुरक्षित बासस्थान निर्माण गरिने योजना अघि सारिएको छ। निलबाराही जंगल क्षेत्रमा देखिएको बाँदरको समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय गरी नियन्त्रण तथा व्यवस्थापन गरिने बताइएको छ।

नगर प्रमुख श्रेष्ठले प्रस्तुत गर्नु भएको नीति पशुपालन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र समावेशी बनाउने दिशामा महत्वपूर्ण कदम भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!