मध्यपुर थिमि नगरपालिकाको बजेटमा सम्पदा संरक्षण र दीर्घकालीन योजना प्राथमिकतामा

मध्यपुर थिमि , ९ असार २०८२:

मध्यपुर थिमि नगरपालिकाको १२औं नगर सभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उपप्रमुख विजय श्रेष्ठद्वारा प्रस्तुत बजेटमा नगरका गौरवका योजना र दीर्घकालीन परियो जनाहरुलाई निरन्तरता दिइने स्पष्ट गरिएको छ। ऐतिहासिक सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र वातावरणीय सन्तुलनलाई बजेटले प्राथमिकता दिएको छ।

नगरका गौरवका योजनाहरूलाई निरन्तरता दिँदै धार्मिक सम्पदा र पर्यटन पदमार्गको निर्माणलाई अघि बढाउने, शंखधर गुरुयोजना कार्यान्वयनलाई तीव्रता दिने तथा बालकुमारी उकालो र वनदेवी परिषरको सौन्दर्यकरणका कार्यहरू बजेटमा समावेश छन्। यिनै योजनामार्फत पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाको समेत लक्ष्य राखिएको छ।

त्यस्तै, नगरपालिकाको प्रशासनिक कार्यक्षमता अभिवृद्धिका लागि मध्यपुर थिमि नगरपालिका तथा वडाहरूका लागि प्रशासनिक भवनको निर्माण प्रस्ताव गरिएको छ।

निलबाराही वन क्षेत्र, दुनेग, वनदेवी क्षेत्र र भाँगु पहिरो नियन्त्रणका लागि वातावरणीय तथा प्राविधिक हस्तक्षेप हुनेगरी बजेट विनियोजन गरिएको छ।

सम्पदा पुनर्निर्माण अन्तर्गत लायकु दरबार, भाँगु महालक्ष्मी मन्दिर तथा हिरण्यवर्ण महाविहारसहित थिमि का तीन ऐतिहासिक बिहारहरू पुनः निर्माण गरिनेछन्। जात्रा, पर्व, मूर्त र अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनलाई पनि विशेष बजेट छुट्याइएको छ।

सार्वजनिक जीवनस्तर सुधार गर्ने लक्ष्यसाथ खुला क्षेत्र र सार्वजनिक स्थलहरूको संरक्षण गर्दै तिनको उपयोगिता वृद्धि गरिने छ। साथै शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको समग्र विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। नगरको फोहोरमैला व्यवस्थापन तथा सरसफाइलाई अझ प्रभावकारी बनाउन सडक सरसफाइ उपकरण खरिद गरिनेछ। युवालाई लक्षित गर्दै रोजगारी, व्यावसायिकता र सीपमूलक तालिमको व्यवस्था गरिने योजना बजेटमा उल्लेख छ।

नगर उपप्रमुख श्रेष्ठले प्रस्तुत बजेटले संपदा संरक्षण, पूर्वाधार सुदृढीकरण, वातावरणीय सुरक्षा र सामाजिक समावेशी विकासबीच सन्तुलन मिलाउँदै नगरलाई स्वाभिमानी, सभ्य र समुन्नत बनाउने लक्ष्य लिएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!