ललितपुर, १२ असार २०८२ः
ललितपुर प्रहरीले आजदेखि जिल्लाभर लागुऔषध दुर्व्यसनरहित घर अभियान सुरु गरेको छ। सानेपामा आयोजित विशेष समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङबीच अभियानको समझदारी पत्रमा हस्ताक्षर भएको हो।
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा मेयर महर्जनले अभियानलाई सफल बनाउन नगरवासी र प्रहरीको सहकार्य अपरिहार्य हुने बताए। “धेरै राम्रो कामको सुरुवात भएको छ। सबैलाई धन्यवाद। हामी प्रहरीसँग सहकार्य गरेर अभियान सफल बनाउनेछौँ,” उनले भने।
कार्यक्रम जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भयो। कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले लागुऔषध दुर्व्यसनलाई ‘रोग’ को संज्ञा दिँदै नियन्त्रणका लागि विभिन्न अभियान र अपरेसन सञ्चालन भइरहेको जानकारी दिए।
आईजीपी थापाले ललितपुर महानगरपालिकाभित्र अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन उपत्यका प्रहरी कार्यालयका एआईजी तामाङ र ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीलाई आवश्यक निर्देशनसमेत दिएका छन्।
