चितवन, २५ साउन २०८२ः
नेपालको पोल्ट्री क्षेत्रकै अग्रणी उद्योगको रुपमा परिचित दाउन्ने एग्रो फार्म लिमिटेडका अध्यक्ष विनोद पोखरेलले फार्मले अत्याधुनिक प्रविधि प्रयोग गरेर उच्च गुणस्तरका, एन्टिबायोटिक मुक्त अण्डा न्यूनतम लागतमा उत्पादन गर्दै आएको बताएका छन।
संस्थाको ८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नु हुदै अध्यक्ष पोखरेलले दाउन्ने एग्रो फार्म जर्मनी र मलेसियाबाट आयात गरिएका जलवायु नियन्त्रणयुक्त पूर्ण स्वचालित प्रणाली मार्फत सञ्चालन भइरहेको नेपालकै सबैभन्दा ठूलो र प्रविधियुक्त कुखुरा फार्ममध्ये एकका रूपमा विकास भैसकेको बताए।

अध्यक्ष पोखरेलका अनुसार, दाउन्ने एग्रो फार्मको उत्पादनले आयात प्रतिस्थापनमा मात्र होइन, स्थानीय तहमा उल्लेखनीय रोजगारी सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याइरहेको छ। उनले कम्पनीको विस्तारसँगै पशु कल्याण, दिगो पानी व्यवस्थापन र कार्य दक्षतामा निरन्तर सुधार भइरहेको बताए।
निजी कम्पनीबाट सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको उल्लेख गर्दै उनले यसले पारदर्शिता, सुशासन र दिगो विकासमा कम्पनीको प्रतिबद्धता झल्काएको बताए। साधारण सभामा नेपाल अपर्च्युनिटी फन्ड–१ लगायतका संस्थागत लगानीकर्ताको सहभागिताले भविष्य प्रतिको विश्वास थप मजबुत भएको पनि उनले बताए।
कम्पनीले स्वविकसित ईआरपी सफ्टवेयरमार्फत उत्पादन, लागत, भण्डारण र बिक्री व्यवस्थापनमा उच्च दक्षता ल्याएको अध्यक्ष पोखरेलले जानकारी दिए। साथै, स्वास्थ्य, शिक्षा, खेलकुद र पूर्वाधार विकासमा सामुदायिक जिम्मेवारीका कार्यक्रमहरू सञ्चालन भइरहेको उनले बताए।
कार्यक्रममा अध्यक्ष पोखरेलले आगामी दिनमा अण्डा उत्पादन विस्तारमार्फत रोजगारी सिर्जना, आयात प्रतिस्थापन र आत्मनिर्भर नेपाल निर्माणमा अझ ठूलो योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीको सञ्चालक समिति
दाउन्ने एग्रो फार्म लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विनोद पोखरेल रहेका छन भने निर्देशकहरूमा हेमराज बडाल (ऋषि), बिपिन पोखरेल, रघुनाथ भट्ट, युबराज लामिछाने र स्वतन्त्र निर्देशक सुजिता रेग्मी रहेका छन्।