मध्यपुर थिमि नगरबासीलाई निःशुल्क रक्त सेवा निरन्तर

मध्यपुर थिमि, २६ साउन २०८२:

मध्यपुर थिमि नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा बीचको सम्झौता नवीकरणसँगै नगरबासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरण सेवा निरन्तर हुने भएको छ। सोमबार सम्झौतामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र रेडक्रस भक्तपुर शाखा अध्यक्ष परशुराम पाण्डेले हस्ताक्षर गरे।

सम्झौता अनुसार नगरबासीले भक्तपुर रक्तसञ्चार सेवाबाट आवश्यक रगत निःशुल्क पाउनेछन्। रगतको दस्तुर भने नगरपालिका रेडक्रसलाई भुक्तानी गर्नेछ। नगर प्रमुख श्रेष्ठका अनुसार, “यो सम्झौताले आपत्कालीन अवस्थामा पनि नगरबासीलाई सहज र निःशुल्क रगत उपलब्ध गराउनेछ।”

२०७९ साउन ४ गते पहिलोपटक सम्झौता भएदेखि नै यस सेवाले उल्लेख्य लाभ पुगेको छ। पहिलो वर्षमा मात्र ७४७ पिन्ट रगत वितरण गर्दै ७ लाख ३२ हजार ९९८ रुपैयाँ रेडक्रसलाई भुक्तानी गरिएको स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतीले जानकारी दिए।

आर्थिक वर्ष २०८०/८१ मा ३६१ जनाले सेवा लिएका थिए भने २०८१/८२ मा ४७९ जनाले ८१४ पिन्ट रगत तथा रक्ततत्व निःशुल्क प्राप्त गरेका थिए। नगरपालिका अनुसार यो सेवा आगामी वर्षहरूमा पनि निरन्तर रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!