चितवन,
चितवनका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ (CAV) देखिएको छ। राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको परीक्षणबाट ३३ प्रतिशत नमूनामा यो रोगको सङ्क्रमण पुष्टि गरेको हो।
कार्यालय प्रमुख बरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहित अन्य जिल्लाका ९२ नमूनामध्ये ३१ वटामा (३३%) यो भाइरस भेटिएको हो। एलाइजा प्रविधिबाट गरिएको परीक्षणमा रोगले कुखुराको प्रतिरोधात्मक क्षमता घटाउने र त्यसका कारण अन्य रोगको आक्रमण बढ्ने देखिएको छ।
डा. श्रेष्ठले भने, “प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा किसानलाई आर्थिक प्रभाव पर्छ।” उनका अनुसार संक्रमित कुखुरामा रक्तअल्पता, तौल नबढ्ने, र उत्पादनमा कमी जस्ता लक्षण देखिन्छन्।
नेपालमा यो रोग पहिलो पटक दुई वर्षअघि काठमाडौंमा देखिएको थियो। बचाउनका लागि ब्रोइलर र लेयर दुवैका माउ तथा चल्लामा CAV विरुद्धको खोप आवश्यक हुने उनले बताए।
गत आर्थिक वर्षमा प्रयोगशालाले १६ जिल्लाबाट संकलित नमूनाको परीक्षण गर्दा अन्य रोगहरू पनि देखिएका थिए जस्मा लो प्याथोेजेनिक एभिएन इन्फ्लुएन्जा (H9) ४८ वटा, रानीखेत १३ वटा, गम्बारो १२२ वटा, Infectious Bronchitis २ वटा रहेका थिए। त्यस्तै, १,१२० कुखुराको कलेजो परीक्षण गर्दा इ. कोलाई ७८५ वटामा र साल्मोनेला ११२ वटामा भेटिएको थियो।
डा. श्रेष्ठका अनुसार यी रोगहरू जैविक सुरक्षाको अभावका कारण फैलिएका हुन्। उनले फार्ममा दाना, पानी, औषधि, भुस ल्याउँदा वा अण्डा पठाउँदा कडाइका साथ जैविक सुरक्षा पालना गर्न, साथै फार्ममा आउने व्यक्ति र सवारीसाधनलाई पूर्ण रूपमा निःसङ्क्रमण गर्न सुझाएका छन्।