भक्तपुर, २८ साउन २०८२ः
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व अंगदान दिवस मनाएको छ।
केन्द्रमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि गरिने अंगदानले धेरैको ज्यान बचाउन सक्ने भएकाले यसबारे जनचेतना आवश्यक भएको बताए। उनले प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्ने तथा विशिष्टीकृत उपचार काठमाडौं बाहिर पु¥याउने योजना मन्त्रालयको रहेको जानकारी दिए।
मन्त्री पौडेलले सरकारी अस्पतालमा दक्ष जनशक्ति, उपकरण र पूर्वाधारको अभाव हटाउँदै नागरिकको विश्वास कायम राख्ने प्रतिबद्धता जनाए। उनले स्वास्थ्य सेवा सस्तो, गुणस्तरीय र विश्वसनीय बनाउने लक्ष्यसहित भक्तपुरलाई स्वास्थ्य हबका रूपमा विकास गरिरहेको बताए।
भक्तपुरका संघीय सांसद दुर्लभ थापाले अंगदानलाई “सबैभन्दा ठूलो दान” भन्दै अंग जोगाउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए। उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिरामीको भीड बढ्दो क्रममा रहेको उल्लेख गर्दै, धेरै बिरामी चाँडो पालो पाउने अपेक्षासहित आउने गरेको बताए। उनले केन्द्रलाई अझ व्यवस्थित र सहज रूपमा सञ्चालन गर्न सकिने सुझाव दिए।
कार्यक्रममा नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालले गरिबीका कारण अंग बेचबिखन रोक्न तथा आवश्यक पदपूर्तिका लागि तत्काल विज्ञापन खोल्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए। प्रतिनिधिसभा सांसद दुर्लभ थापाले बिरामीको चाप र सेवा विस्तारका कारण प्रत्यारोपण केन्द्रलाई उपयुक्त स्थानमा सार्न सुझाव दिए।
भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले नेपालमै मृगौला र कलेजो प्रत्यारोपण सुरु भएपछि अरबौं रुपैयाँ विदेशिनबाट बचेको बताए। उनले स्वास्थ्य बीमा सेवालाई अझ प्रभावकारी बनाउन मन्त्रालयको सक्रियता आवश्यक भएको उल्लेख गरे।
ख्वप अस्पतालले वार्षिक २ लाख ८० हजार बिरामीलाई सेवा दिइरहेको तर २५ करोडभन्दा बढी बीमा भुक्तानी बाँकी भएकाले सञ्चालनमा समस्या भएको जानकारी पनि कार्यक्रममा दिइयो।
अस्पतालका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले कलेजो र मृगौला प्रत्यारोपणले बिरामीलाई आर्थिक र मानसिक रूपमा सहज बनाएको बताए। प्रत्यारोपण संयोजक डा. कल्पनाकुमारी श्रेष्ठले स्वागत मन्तव्य दिएकी थिइन् भने अंगदाता तथा अंग ग्रहणकर्ताका प्रतिनिधिहरूले पनि अनुभव बाँडे।