काठमाडौं, २८ साउन २०८२ः
स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सह–उपकुलपति प्रदीप पौडेलले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव–नियुक्त उपकुलपतिलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्। बुधबार दिउँसो मन्त्रालयमा आयोजित कार्यक्रममा उनले नियुक्तिपत्र बुझाए। पत्र हस्तान्तरण समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र डा. डिल्लीराम शर्मा पनि उपस्थित थिए।
मंगलबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा. डा. भरतबहादुर खत्री, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा. डा. बुद्धिप्रसाद पौडेल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा. डा. पूजन कुमार रोकायालाई उपकुलपति नियुक्त गरेका थिए।
चारमध्ये तीन जना हाडजोर्नी तथा नशारोग विशेषज्ञ र एक जना इन्टरनल मेडिसिन विशेषज्ञ रहेका छन्।