निलबाराही मन्दिर क्षेत्रको पहिरो रोकथामका लागि डिपिआर सार्वजनिक
मध्यपुर थिमि, ३ भाद्र २०८२ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिका र काठमाण्डौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले निलबाराही मन्दिर क्षेत्रको पहिरो तथा भू–क्षय नियन्त्रणका लागि दीर्घकालीन योजना अघि बढाउने भएको छ।

आज नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले निलबाराही क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक सम्पदा मात्र नभई पर्यटकीय सम्भावना बोकेको धरोहरका रूपमा सुरक्षित गर्ने दायित्व नगरपालिका निरन्तर बहन गर्दै आएको बताए। उनले भने, “निलबाराही वनक्षेत्रको पहिरो नियन्त्रण गरी मन्दिर क्षेत्रको सुरक्षा गर्दै यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो। यसले स्थानीय स्तरमा व्यवसाय र रोजगारी सिर्जना गर्दै आर्थिक विकासमा समेत टेवा पुर्याउनेछ।”

नगरपालिकाले २०७९ सालदेखि नै निलबाराही क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विभिन्न संरचनागत संरक्षण, अतिक्रमित सार्वजनिक जग्गा फिर्ता, ढुंगाको पर्खाल निर्माण, प्रवेशमार्ग संरक्षण लगायतका कार्य गर्दै आएको छ। हालसम्म जनप्रतिनिधि, स्थानीयवासी र भक्तजनको सक्रियता र जनश्रमदानमार्फत अस्थायी बाटो तथा पर्खाल निर्माणको काम निरन्तर भइरहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार, अहिलेसम्म केन्द्र सरकार, उपत्यका विकास प्राधिकरण र नगरपालिकाको आन्तरिक स्रोतबाट करिब १५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भइसकेको छ। चालु आर्थिक वर्षमा मात्र करिब ८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेटबाट थप काम अघि बढाइनेछ। यसबाहेक सडक निर्माणका लागि पनि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ।
निलबाराही क्षेत्रको संरक्षण र पहिरो नियन्त्रणका लागि बायो–इञ्जिनियरिङ, पाइलिङ, नेलिङ, ग्राउटिङ, ग्रिड बिम जस्ता आधुनिक प्रविधि प्रयोग गरिने उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले यो योजना वातावरणमैत्री र दीर्घकालीन हुने बताए।
उक्त पत्रकार सम्मेलनमा निलबाराही मन्दिर क्षेत्रको पहिरो तथा भू–क्षय नियन्त्रणका थ्री–डी नक्सा सहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुतीकरण गरिएको थियो।
भिडियो