नेपालगन्ज, १३ भाद्र २०८२ः
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको २३ लाख रुपियाँभन्दा बढी मूल्य बराबरको औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका–१८, लगदहवामा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल बीओपी जयसपुरको टोलीले बिनएन अल्को ड्रप्स नामक औषधी फेला पारेको हो। बरामद गरिएको औषधीको मूल्य २३ लाख ३ हजार ६४० रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वाटर बाँकेका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालले जानकारी दिनुभयो।
उनका अनुसार, प्रारम्भिक अनुसन्धानबाट औषधी नेपाल भित्र्याउने क्रममा आवश्यक कागजात नदेखिएको र भन्सार शुल्क समेत नतिरी ल्याइएको खुलेको छ। बरामद गरिएको औषधी आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।
यसबारेमा औषधी कहाँबाट ल्याइएको हो र संलग्न व्यक्ति वा समूह को हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो।
सशस्त्र प्रहरीले पछिल्लो समय भन्सार छली र अवैध व्यापार नियन्त्रण गर्न जिल्लाका मुख्य नाका तथा आसपासका क्षेत्रहरूमा चेकजाँच कडा बनाएको छ। सोही कारण दिनहुँ विभिन्न सामानहरू बरामद भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।