GEN Z आन्दोलनमा ज्यान गुमाउनेप्रति दाना उद्योग संघको श्रद्धाञ्जली

कर्फ्यूले अर्थतन्त्र प्रभावित, सहज ढुवानीका लागि संघको अपिल

काठमाडौं, २६ भाद्र २०८२ः

नेपाल दाना उद्योग संघले हालै भएको GEN Z आन्दोलनका क्रममा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संघले २०८२ भाद्र २३ गतेदेखि सुरु भएको आन्दोलनमा ज्यान गुमाएका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।

संघका नबनिर्बाचित अध्यक्ष उमेशचन्द्र सापकोटा र महासचिव केशवराज थापाले हस्ताक्षरित विज्ञप्तिमा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै आन्दोलनका क्रममा भएको सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आन्दोलनमा भएको जनधनको अपूरणीय क्षति प्रति संघ गहिरो दुःख व्यक्त गर्दछ । घुसपैठ जस्ता अवाञ्छनीय कार्यमा संलग्न व्यक्तिहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

देशका विभिन्न भागमा जारी कर्फ्यू र यातायात बन्दका कारण अर्थतन्त्रमा ठूलो असर परेको भन्दै संघले उद्योग–व्यवसायलाई निरन्तरता दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक वस्तुहरूको ढुवानी तथा वितरणमा सहयोग गर्न आग्रह गरेको छ ।

संघले परिस्थिति सामान्य नहुँदासम्म सुरक्षित रहन सर्वसाधारणलाई समेत अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!