प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्री थापा र शर्मासँग छलफल

काठमाडौँ, १५ कार्तिक २०८२ः

प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको हो।

हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिनुभयो।

प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताउनुभएको थियो। त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भएता पनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय गर्छौँ। नेकपा (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’ उहाँहरुले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताउनुभयो।

जेनजीलगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले के के निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उहाँहरुले राख्नुभयो।

प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाउनुभएको छ। आज पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!