काठमाडौँ, २२ कर्तिक २०८२ः
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) शनिबार साँझदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। रनवे किनारमा रहेका बत्ती (एयर फिल्ड लाइटिङ) मा समस्या देखिएपछि साँझ साढे ५ बजेदेखि उडान र अवतरण पूर्ण रूपमा प्रभावित भएका हुन्।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार समस्या समाधानका लागि प्राविधिक टोली परिचालित भइसकेको छ। “धावनमार्गका बत्तीमा प्राविधिक समस्या आएको छ। मर्मत कार्य भइरहेको छ र शीघ्रै उडान नियमित हुनेछ,” उहाँले जानकारी दिनुभयो।
रातिको समयमा विमानको सुरक्षित उडान र अवतरणका लागि आवश्यक उज्यालो दिने ‘एयर फिल्ड लाइटिङ’ प्रणाली बिग्रँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन्।
काठमाडौँ अवतरणका लागि आइसकेका केही विमान आकाशमै परिक्रमा गरिरहेका छन् भने नयाँ उडानहरू स्थगित गरिएको विमानस्थल स्रोतले जनाएको छ। अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै उडान तथा अवतरण रोकिएका छन्।