जनकपुरधाम, २२ कात्तिक २०८२ः
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले शनिबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ।
सोनारले विश्वासको मतका लागि पेश गरिएको प्रस्ताव पारित नहुने देखेपछि प्रस्ताव फिर्ता लिँदै राजीनामा दिनुभएको हो। त्यसपछि सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ प्रस्ताव पेस गर्न आवश्यक नरहेको भन्दै बैठक स्थगित गर्नुभएको छ।
आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्दै प्रस्ताव पेश गर्नुभएको थियो। तर, नेकपा (एमाले) र नेपाली काँग्रेसका प्रमुख सचेतहरूले मुख्यमन्त्रीलाई समर्थन नगर्ने स्पष्ट बताएका थिए।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद रहवर अन्सारीले आफू तटस्थ रहने बताउनुभयो भने सांसद माला कर्णले उहाँकै भनाइमा समर्थन जनाउनुभयो।
यसैबीच, जनमत पार्टीका प्रदेशसभा सदस्य तथा पूर्व मुख्यमन्त्री सतीशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह बैठकमा अनुपस्थित रहनुभयो।
मधेश प्रदेशसभामा हाल १०७ सदस्य छन्, जसमा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्छ। हाल तीन जना सदस्य निलम्बनमा रहेका छन।