औषधि खरिददेखि बीमा प्रणालीसम्म सुधारको तयारी: मन्त्री डा. गौतम

धरान, १६ मंसिर २०८२ः

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले देशभरका अस्पतालको प्रत्यक्ष अनुगमनमार्फत स्वास्थ्य सेवा, औषधि आपूर्ति, बीमा र सार्वजनिक खरिद प्रणालीमा देखिएका समस्याको समाधानतर्फ सरकार अगाडि बढ्ने बताउनुभएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निरीक्षणपछि मन्त्री गौतमले मानसिक स्वास्थ्य, श्रमिक लक्षित कार्यक्रम, औषधि खरिद, मेडिकल ल्याब र सार्वजनिक खरिद प्रक्रियामा संरचनात्मक सुधार अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार बीमा प्रणाली, प्रयोगशाला सेवा, औषधि वितरणदेखि सेवा व्यवस्थापनसम्मका क्षेत्रहरूमा चुनौती निरन्तर देखिएकाले त्यसलाई तथ्यका आधारमा सुधार गर्ने प्राथमिकता सरकारले लिएको छ।

स्वास्थ्यकर्मीका गुनासा, सेवामा देखिएका कठिनाइ र व्यवस्थापनका समस्याबारे प्रत्यक्ष सुन्न आफू प्रदेश–प्रदेश घुमिरहेको उहाँको भनाइ छ। “जेनजी आन्दोलनपछि बनेको सरकारले पारदर्शी शासन र भ्रष्टाचारमुक्त प्रणाली निर्माणलाई मुख्य लक्ष्य लिएको छ,” मन्त्री गौतमले बताउनुभयो।

काठमाडौँ, लुम्बिनीलगायत संघीय अस्पतालहरूको अवस्थाबारे पनि निरन्तर अध्ययन भइरहेको उल्लेख गर्दै उहाँले सेवा गुणस्तर, पर्खाइ समय र सर्वसाधारणको सहजता प्रमुख मूल्यांकन बिन्दु भएको बताउनुभयो।

बिपी प्रतिष्ठानको आगामी सिनेट बैठकका तयारी बारे प्रत्यक्ष जानकारी लिनै निरीक्षणमा आएको उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!