संकटको समयमा अघि बढेको नेतृत्वलाई पुनः विश्वासः पोखरेल पुनः अध्यक्षमा निर्वाचित, महासचिवमा भेषराज अर्याल

चितवन, ५ पुस २०८२ः

नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा विनोद पोखरेल पुनः निर्विरोध निर्वाचित हुनु भएको छ । भरतपुरमा हिजो सम्पन्न संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेक निरौला, कोषाध्यक्षमा प्रकाश चापागाईं तथा वरिष्ठ सदस्यमा राजेन्द्र लामिछाने चयन हुनु भएको छ ।

त्यसैगरी समितिको सदस्यहरूमा राजु अधिकारी, संजीव खनाल, ललित जिसी, बिबेक भट्ट, गंगाराम भट्टराई, भरत शर्मा, ध्रुव शर्मा र कृष्ण आले रहनु भएको छ । संघको सल्लाहकारमा सुनिलकुमार शाक्य, त्रिलोचन कँडेल, शिजीप्रसाद कलवार र ठाकुरप्रसाद भट्टराई चयन हुनु भएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले निजी क्षेत्रको सक्रियतामा सरकारी निकायका विज्ञहरूबाट अण्डाको लागत मूल्य निर्धारण गरिएकोमा संघलाई धन्यवाद दिनुभयो । संघले हालै विज्ञ समूह गठन गरी अण्डाको लागत मूल्य रु. १९.१२ कायम गरेको थियो, जुन कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरूको समूहले अध्ययन गरेर प्रस्ताव गरेको हो । उपभोक्ता र किसान दुवैलाई लाभ पुग्ने गरी लागत मूल्य निर्धारण भएकोमा खुशी व्यक्त गर्दै महानिर्देशक तिवारीले भन्नुभयो, “अब अण्डाको खपत बढाउनेतर्फ लाग्नुपर्छ, नेपालीको भोजनमा अण्डाको बानी बसाल्न आवश्यक छ।”

कार्यक्रममा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले ठूलो लगानी गर्ने व्यवसायीहरूले संस्थाको नेतृत्व गर्दा संस्थागत मूल्य र अनुशासन कायम रहनुपर्ने बताउनुभयो । उहाँले साना पक्षमा ध्यान दिँदै नयाँ प्रविधिको प्रयोगमार्फत लागत घटाउन आग्रह गर्नुभयो ।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले लागत अनुसारको मूल्य नपाउँदा धेरै किसान विस्थापित भएको उल्लेख गर्दै अब निर्धारण गरिएको लागत मूल्य कार्यान्वयन हुने गरी बजार व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो । निजी क्षेत्रको सक्रियताले धरासायी बन्दै गएको पोल्ट्री क्षेत्र पुनः उकासिन थालेको उहाँको भनाइ थियो ।

मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने र नेपाल अण्डा उत्पादक संघका पूर्व अध्यक्ष त्रिलोचन कँडेलले विनोद पोखरेलको नेतृत्वमा निरन्तर पहल हुँदा अण्डाको बजार क्रमशः सुधार हुँदै गएको बताउनुभयो । उहाँहरूले विज्ञ समूहले तयार पारेको लागत मूल्यलाई सरकारले औपचारिक रूपमा अनुमोदन गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष विशाल चापागाईं, दाना उद्योग संघका उपाध्यक्ष गोपाल टण्डनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष विनोद पोखरेलले वि.सं. २०७९ असोज २९ गते संघ स्थापना भएपछि देशभर छरिएर रहेका अण्डा उत्पादक र वितरकबीच समन्वयकारी भूमिका खेल्दै संघलाई वर्तमान अवस्थामा ल्याउन सफल भएको बताउनुभयो । संघ स्थापना नहुँदा बजार व्यवस्थापन कमजोर रहेको र समयमै पहल नगरेको भए नेपाल आज अण्डामा आत्मनिर्भर नहुने उहाँको भनाइ थियो । साधारणसभाको अवसरमा संघलाई विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो । दुई वर्षे कार्यकाल रहने समितिमा पोखरेल तेस्रो पटक अध्यक्ष बन्नु भएको हो । हाल संघमा करिब २५० सदस्य रहेका छन् भने यस क्षेत्रमा १५० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको व्यवसायीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!