पोखरा, ५ पुस २०८२ः
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा पर्यटन वर्ष २०२५ को प्रवर्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
फोनिजको आयोजना तथा फोनिज गण्डकी प्रदेश र कास्की शाखाको समन्वयमा शनिबार पोखरा–२२ स्थित कालाबाङ घरेडी सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवर्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । नेपाललाई विश्व पर्यटन क्षेत्रमा चिनाउन आदिवासी जनजातिको संस्कार र संस्कृतिको ठूलो योगदान रहेको उल्लेख गर्दै उहाँले पर्यटन अभियानमा मिडियाको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आदिवासी जनजातिको संस्कृति नै नेपालको पर्यटनको आधार हो, यसलाई संरक्षण र प्रवर्धन गर्नु हामी सबैको दायित्व हो।” हाल पोखरा महानगरपालिकाले पर्यटकलाई लक्षित गर्दै प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा व्यवसाय केन्द्र पोखराका प्रमुख नवराज अधिकारीले पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पोखरा आन्तरिक तथा बाह्य दुवै पर्यटकका लागि अत्यन्तै उपयुक्त गन्तव्य भएको बताउनुभयो । पोखरामा आयोजना हुने विभिन्न मेला–महोत्सवले पनि पर्यटन प्रवर्धनमा उल्लेखनीय टेवा पुर्याइरहेको उहाँले उल्लेख गर्नुभयो ।
यस वर्ष पोखरा महानगरपालिकाले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको जानकारी दिँदै उहाँले लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न महानगर तयार रहेको स्पष्ट पार्नुभयो ।
फोनिजका सल्लाहकार उजीर मगरले पर्यटन वर्ष २०२५ मनाइरहँदा पोखरा महानगरले पोखरा सहरमा मात्र केन्द्रित नभई आसपासका क्षेत्रको पर्यटन प्रवर्धनमा समेत ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी फोनिजका अर्का सल्लाहकार डण्ड गुरुङले बाह्य पर्यटकहरू सिमेन्टका घरभन्दा पनि यहाँका आदिवासी समुदायको सभ्यता, संस्कृति र जीवनशैलीप्रति बढी आकर्षित हुने गरेको बताउनुभयो । आदिवासी संस्कृतिको संरक्षण र प्रवर्धनमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष लक्की चौधरीले पर्यटन प्रवर्धनमा आदिवासी समुदायको ज्ञान, सीप, कला र संस्कृतिले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । आदिवासी समुदायका मौलिक पहिचानलाई प्रवर्धन गर्न सके पर्यटक आकर्षण थप बढाउन सकिने उहाँको सुझाव थियो ।
फोनिज अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिजका संघीय महासचिव समीर बलामी, पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बडाल, फोनिज गण्डकी प्रदेशका अध्यक्ष खिमा गुरुङ लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।