काठमाडौँ, ७ पुस २०८२ः
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सर्वसाधारण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल एपीएफ अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गरिएको छ ।
अस्पतालको स्तरवृद्धि अवधारणा अनुरूप पछिल्लो तीन वर्षमा दुई वटा नयाँ ‘मोड्युलर अप्रेसन थियटर’ निर्माण गर्नुका साथै सहवीर थापा अन्कोलोजी युनिट स्थापना गरी सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
मेडिकल कलेज सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार निर्माण कार्यसमेत निरन्तर भइरहेको छ । साथै, इन्ट्रानेट तथा इन्टरनेटमार्फत सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएसँगै अस्पतालसम्म आउन नसक्ने बिरामीले पनि सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सशस्त्र प्रहरी बललाई २०८१ असोजमा ३०० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा नेपाल एपीएफ अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच चिकित्सा शिक्षासम्बन्धी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भइसकेको छ ।
उपचारका लागि आउने बिरामीलाई समयसापेक्ष र गुणस्तरीय सेवा प्रदान गर्ने, अस्पतालको स्तरोन्नति गर्ने तथा जनशक्तिको वृत्ति विकासका लागि आवश्यक भवन, कुरुवा घर, पुनर्स्थापना केन्द्रलगायत संरचना निर्माणको तयारी भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
नेपाल एपीएफ अस्पताल तथा मातहतका अस्पतालमा जलन उपचार युनिट सञ्चालनका लागि २२ जना स्वास्थ्यकर्मी सशस्त्र प्रहरी कर्मचारीलाई कीर्तिपुरस्थित जलन अस्पतालमा पाँचदिने तालिम प्रदान गरिएको छ । सो सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा सामग्री जडानको कार्यसमेत भइरहेको छ ।
सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रको समन्वयमा अस्पताल परिसरभित्रै सःशुल्क फार्मेसी सञ्चालनमा ल्याइएको छ । साथै, सशस्त्र प्रहरीका बहालवाला तथा पूर्वकर्मचारीका लागि दैनिक उपभोग्य सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन ‘सुपथ मूल्य क्यान्टिन’ पनि सञ्चालनमा आएको छ ।
चालु आर्थिक वर्षदेखि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा ‘एपीएफ नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस’ सञ्चालनमा आएको छ । उक्त इन्स्टिच्युटमा यसै शैक्षिक सत्रदेखि प्रविणता प्रमाणपत्र तह नर्सिङ अध्ययन सुरु भएको छ । हाल इन्स्टिच्युटमा सःशुल्कतर्फ ३६ जना र छात्रवृत्तितर्फ ४ जना गरी कुल ४० जना विद्यार्थी अध्ययनरत छन् ।
कुरिनटारस्थित ट्रमा सेन्टर तथा सातै प्रदेशमा रहेका फिल्ड अस्पतालहरू अब स्थायी संरचनाबाट सञ्चालन हुने भएका छन् । यसअघि प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) को कमान्डमा सञ्चालन हुँदै आएका ती संरचनाको कमान्ड अब प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (चिकित्सक) ले गर्ने व्यवस्था मिलाइएको छ ।