कीर्तिपुर (काठमाडौँ) , १० पुस २०८२ः
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज आयोजना हुँदैछ। विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह आयोजना गर्न लागिएको हो।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार यस वर्षको दीक्षान्त समारोहका प्रमुख अतिथि जापानी प्राध्यापक ताकाआकी काजिता हुनुहुनेछ। टोकियो विश्वविद्यालयमा आबद्ध काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो।
उपकुलपति प्रा. डा. अर्यालले दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो। मण्डप निर्माण, दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने कुर्सी व्यवस्थापनलगायत सम्पूर्ण पूर्वतयारी सम्पन्न भएको उहाँले बताउनुभयो।
यसपटक दीक्षान्त समारोहमा १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ। समारोहमा विद्यार्थी, अभिभावक तथा अतिथिसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी जम्मा ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागी हुनका लागि निवेदन दिएको उपकुलपति अर्यालले जानकारी दिनुभयो।
समारोहमा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिनेछ। यस वर्ष मानविकी सङ्कायबाट १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनबाट दुई हजार ३३५ तथा शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन्।