काभ्रेपलाञ्चोक, १० पुस २०८२ः
कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको छ। होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको हो।
हानका जिल्ला अध्यक्ष प्रह्लाद प्याकुरेलका अनुसार डेढ दशकअघि सुरु भएर सुस्ताएको ‘सुन्तला–हाइकिङ’ कार्यक्रम परीक्षण तथा प्रवर्द्धनका रूपमा पुनः सञ्चालन गर्न लागिएको हो। क्रिसमसको अवसर पारेर बिहीबार औपचारिक रूपमा कार्यक्रम सुरु गरिनेछ।
कार्यक्रमअन्तर्गत नमोबुद्धदेखि बल्थलीसम्म पदयात्रा गरिनेछ। पदयात्रीले सुन्तला बगैँचाको अवलोकन गर्दै स्थानीय बगैँचाबाटै ताजा सुन्तलाको स्वाद लिन पाउनेछन्। साथै नमोबुद्धको धार्मिक वातावरण र बल्थलीको प्राकृतिक तथा धार्मिक स्थलको अवलोकन गर्न सकिने जनाइएको छ।
प्रवर्द्धनात्मक यात्रामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, कन्टेन्ट क्रियटरलगायत १०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ।
यस कार्यक्रमको अनुभवका आधारमा आगामी वर्षदेखि सुन्तलाको सिजनमा एक महिनाको ट्राभल प्याकेज सञ्चालन गर्ने लक्ष्य लिइएको छ। यसबाट स्थानीय होटल, रिसोर्ट, होमस्टे र कृषि क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच जिल्ला कृषि विकास कार्यालयले यस वर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरेको छ। गत वर्ष बाढीपहिरोका कारण उत्पादनमा करिब सात प्रतिशत गिरावट आएको थियो। यस वर्ष भने करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ।