“जेष्ठ नागरिकसँगै उभिएको मध्यपुर थिमि नगरपालिका” — बिजय कृष्ण श्रेष्ठ, उपप्रमुख

जेष्ठ नागरिक समाजका जीवित इतिहास हुन्। उहाँहरूको कपालसँगै पाकेको अनुभव देश र समाजका लागि मार्गदर्शक सिद्ध हुन्छ। जसरी मजबुत जग बिना घर टिक्न सक्दैन, त्यसरी नै जेष्ठ नागरिकको अनुभव र आशीर्वाद बिना परिवार र समाजले सही दिशा लिन सक्दैन।

धार्मिक, सांस्कृतिक र सामाजिक—हरेक दृष्टिकोणबाट जेष्ठ नागरिकको सम्मान गर्नु हाम्रो परम कर्तव्य हो। जेष्ठ नागरिकलाई सम्मान गर्ने परिवारले मात्र प्रगति र सुख प्राप्त गर्दछ। यही भावनालाई आत्मसात गर्दै मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिकको सम्मान, संरक्षण र स्वास्थ्यलाई आफ्नो प्राथमिकताको केन्द्रमा राखेको छ।

मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिकका क्षेत्रमा गरेका प्रमुख कार्यहरू

नगरपालिकाले जेष्ठ नागरिकको जीवनलाई सहज, सम्मानित र स्वास्थ्यमैत्री बनाउन निम्न कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको छः

घरदैलोमै सामाजिक सुरक्षा भत्ता
विगतमा बैंकमा घण्टौँ लाइन बस्नुपर्ने, यातायात खर्च गरेर सकसपूर्ण ढङ्गले भत्ता लिनुपर्ने बाध्यतालाई नगरपालिकाले अन्त्य गरेको छ। हाल वडा र बैंकसँगको समन्वयमा टोल–टोलमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ।

निःशुल्क स्वास्थ्य बिमा
जेष्ठ नागरिक तथा उहाँका परिवारका पाँच जनासम्म सदस्यलाई निःशुल्क स्वास्थ्य बिमा सुविधा प्रदान गरिएको छ। यसले जेष्ठ नागरिक परिवारका लागि बोझ होइनन् भन्ने सन्देश दिँदै स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गरेको छ।

जेष्ठ नागरिक आरोग्य कार्यक्रम
प्रत्येक महिनाको दुई दिन प्रत्येक वडामा चिकित्सक, ल्याब तथा फार्मेसीसहितको टोली पुगेर स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। यस कार्यक्रममा USG (भिडियो एक्स–रे) र एक्स–रे सेवा समेत उपलब्ध गराइएको छ, जसबाट अस्पतालसम्म पुग्न नसक्ने अशक्त तथा अपाङ्गता भएका जेष्ठ नागरिकहरूले ठूलो राहत पाएका छन्।

भ्रमण तथा सामग्री वितरण कार्यक्रम
वडागत रूपमा जेष्ठ नागरिकहरूका लागि तीर्थयात्रा, भ्रमण तथा आवश्यक दैनिक उपभोग्य र सहयोगी सामग्री वितरणका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।

जेष्ठ नागरिक सेवा केन्द्र: एक बहुआयामिक अवधारणा

नगरपालिकाले वडा नं. ४ र ६ मा कलात्मक र सुविधासम्पन्न जेष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिरहेको छ। वडा नं. ४ इन्द्रायणीमा निर्माण सम्पन्न सेवा केन्द्रको यही पुस १३ गते बिहान ११:०० बजे उद्घाटन तथा स्वास्थ्य परीक्षण कार्यक्रम तय गरिएको छ। आगामी दिनमा यस्ता सेवा केन्द्रहरू सबै वडामा विस्तार गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।

जेष्ठ नागरिक सेवा केन्द्रका थप फाइदाहरू

एक्लोपनको अन्त्य
जेष्ठ नागरिकहरूले आफ्ना दौंतरीहरूसँग समय बिताउन, कुराकानी गर्न तथा अनुभव साटासाट गर्न पाउनेछन्।

आर्थिक सक्रियता
जेष्ठ नागरिकहरू सेवा केन्द्रमा सुरक्षित रूपमा समय बिताउन सक्ने भएपछि परिवारका अन्य सदस्यहरू ढुक्क भएर आय–आर्जनका काममा लाग्न सक्नेछन्, जसले परिवारको आर्थिक अवस्था मजबुत बनाउँछ।

शारीरिक तथा मानसिक स्फूर्ति
नियमित सांस्कृतिक कार्यक्रम, भजन–कीर्तन तथा स्वास्थ्य जाँचले जेष्ठ नागरिकलाई मानसिक रूपमा प्रसन्न र शारीरिक रूपमा सक्रिय राख्नेछ।

पुस्तान्तरणको थलो
नयाँ पुस्ताले पुराना अनुभव, ज्ञान र सीप सिक्ने अवसर पाउनेछन्, जसले समाजमा सुशासन, सद्भाव र सामाजिक एकता कायम गर्न सहयोग पुर्‍याउनेछ।

उपसंहार

जेष्ठ नागरिकको सम्मान, संरक्षण र व्यवस्थापनमा मध्यपुर थिमि नगरपालिकाले चालेका यी कदमहरू अन्य स्थानीय तहका लागि पनि अनुकरणीय छन्। आउनुहोस्, हामी सबै मिलेर हाम्रा अभिभावकहरूको ओठमा मुस्कान ल्याऔँ र उहाँहरूको अमूल्य अनुभवलाई समृद्ध नगर निर्माणमा उपयोग गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!