भक्तपुर, ११ पुस २०८२ः
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा आयोजना हुने जात्रा–पात्रामा पानी बोकेर सहभागीलाई निःशुल्क पानी खुवाउँदै हिँड्ने भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकका समाजसेवी लतंभक्त प्रजापति शुक्रबार भक्तपुरमा सम्मानित भएका छन्।
भक्तपुर नगरपालिका वडा नं १० देकोचास्थित जेन्युइन सेकेन्डरी स्कुलको ३०औँ वार्षिकोत्सवको अवसरमा प्रजापतिलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो। उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सम्मान गर्नुभएको हो।
७७ वर्षीय प्रजापतिले किशोर उमेरदेखि नै पानी खुवाउने समाजसेवा सुरु गरेका हुन्। पहिलो पटक भक्तपुरबाटै यो काम थालेको स्मरण गर्दै उनले सम्मानपछि भने, “अहिले त उपत्यकाभित्र मात्रै होइन, उपत्यकाबाहिर हुने जात्राहरूमा पनि पानी खुवाउन जान्छु।”
उनी सबैलाई नामले भन्दा पनि ‘पानी बाजे’ वा ‘पानी बा’ भनेर चिनिन्छन्। प्रजापति विस्केट जात्रा, दशैं, भोटेजात्रालगायत उपत्यकाका विभिन्न जात्रा–पर्वमा दुईवटा गाग्री र अंखुरा बोकेर पुग्ने गर्छन् र सहभागीलाई पानी खुवाउँदै हिँड्छन्। दुई गाग्रीको पानी सकिएपछि आफ्नै खर्चमा जारको पानी किनेर समेत सेवा दिने गर्छन्। पाँच दशकभन्दा बढी समयदेखि निस्वार्थ रूपमा समाजसेवामा लागेका उनी पहिला–पहिला जारको पानी उपलब्ध नहुँदा घरकै धाराबाट पानी बोकेर हिँड्ने गर्दथे। सम्मानित भइसकेपछि पनि उनी मञ्चबाट ओर्लिएर कार्यक्रममा सहभागीलाई पानी खुवाउनमै व्यस्त देखिएका थिए।
यसै कार्यक्रममा संस्कृति सम्पदाको क्षेत्रमा योगदान पुर्याएको कदरस्वरूप भक्तपुर नगरपालिका वडा नं ८ का राजेश गाइजूलाई ‘जेस संस्कृति सम्पदा सिरपा’ सहित नगद १ लाख ३० हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको छ। स्कुलले यो वर्षदेखि पहिलो पटक उक्त पुरस्कार स्थापना गरी सम्मान गरेको हो र यसलाई हरेक वर्ष निरन्तरता दिने जानकारी दिइयो।
उपाधिका लागि आह्वान गर्दा पाँच जनाको निवेदन परेको थियो। मूल्यांकन समितिको छलफलपछि गाइजूलाई छनोट गरिएको हो। स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छेंको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो। समितिमा भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशी, त्रिभुवन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभागका निवर्तमान विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठ र स्कुलका एक जना प्रतिनिधि रहेका थिए।
कार्यक्रममा स्कुल रहेको भक्तपुर नगरपालिका वडा नं १० का सफाइ कर्मचारी उर्मीला देउला र सीताराम कर्माचार्यलाई पनि जनही नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष विजुक्छेंले समाजमा योगदान गर्ने व्यक्तिहरूको कदर गर्नु सरकार मात्र होइन, समाजको अभिन्न अंगका रूपमा विद्यालयको पनि जिम्मेवारी भएको सन्देशका साथ पुरस्कार स्थापना गरिएको बताए। पुरस्कारमा नगद रकमसँगै सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानका लागि भक्तपुर नगरबासी हुनुका साथै स्नातकोत्तर उत्तीर्ण गरी संस्कृति क्षेत्रमा योगदान दिएको हुनुपर्ने मापदण्ड राखिएको थियो।
कार्यक्रममा उपप्रमुख रजनी जोशी, वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वार्षिकोत्सवको अवसरमा पुस्तक तथा स्मारिकाको विमोचन गर्नुका साथै विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। स्कुलले ३०औँ वार्षिकोत्सवको अवसरमा साउन १७ गतेदेखि १८ वटा विविध कार्यक्रम आयोजना गरेको जनाएको छ।