काठमाडौं , २४ पुस २०८२ः
“स्वस्थ जीवनका लागि खेलकुद अपरिहार्य” भन्ने सन्देशसहित नेपाल पशुपन्छी औषधि व्यवसायी संघको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगिता तथा स्थापना दिवस कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती जिल्ला शाखा कार्य समितिको आयोजनामा धुम्बाराहीस्थित धन्वन्तरी फुटसल मैदानमा कार्यक्रम सञ्चालन गरिएको हो।

फुटसल प्रतियोगितामा संघसँग आबद्ध विभिन्न संस्थाबाट सहभागी टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा संघको केन्द्रीय कार्य समिति, केन्द्रीय पूर्व अध्यक्ष तथा निवर्तमान अध्यक्ष र सल्लाहकारहरूको टोली, नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघ, नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ, बागमती प्रदेश कार्य समिति तथा बागमती जिल्ला शाखाका टोली सहभागी थिए।

रोमाञ्चक खेलहरूबीच सम्पन्न प्रतियोगितामा नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघले उपाधि जित्न सफल भयो भने नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती प्रदेश कार्य समिति उपविजेता बनेको छ।

खेलमा सहभागीहरुले यस्ता कार्यक्रमले संगठनभित्र आपसी सद्भाव, सहकार्य र एकता थप मजबुत बनाउने विश्वास गरे।

संघको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमले खेलकुदमार्फत स्वस्थ जीवनशैली र संस्थागत एकताको सशक्त सन्देश दिएको आयोजकले जनाएको छ।
