भक्तपुर ।
भक्तपुर उद्योग वाणिज्य संघअन्तर्गत जिल्लाका युवा उद्यमीहरुको सहभागितामा मंगलबार युवा उद्यमी उपसमिति गठन गरिएको छ। २० सदस्यीय यस उपसमितिको संयोजकमा कृतन अवाल र सहसंयोजकमा शिशिर किसी चयन भएका छन्।
संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले नवगठित उपसमितिले जिल्लाका नवउद्यमीहरुको लागि प्रेरणाको स्रोत बन्नुपर्नेमा जोड दिएका छन्। उपसमितिले युवा उद्यमशीलता प्रवद्र्धन गर्दै व्यवसायिक गतिविधिमा सहकार्य गर्ने मुख्य उद्देश्य राखेको छ।

संयोजक अवालले युवाहरुको विदेश पलायन कम गर्न देशमै व्यवसाय गरेर आर्थिक उत्थानमा योगदान पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए। उपसमितिले भक्तपुर उद्योग वाणिज्य संघको सहयोगमा बिजनेस इक्युबेसन सेन्टर स्थापना गरी नवउद्यमीहरुलाई आवश्यक परामर्श र व्यवसाय प्रवद्र्धनमा सहयोग गर्ने योजना अघि सारेको छ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं सल्लाहकार शिवप्रसाद मानन्धर, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति लगायतले व्यवसाय सञ्चालनको क्रममा समस्या आए पनि निरन्तरता र योजनाबद्ध प्रयासले सफलता प्राप्त हुनेमा जोड दिएका छन्।