काठमाडौं ।
नेपालमा पशु स्वास्थ्य तथा “एक स्वास्थ्य (One Health)” अवधारणालाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल भेटेरिनरी एशोसियसन (NVA) को १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन (VetCon 2026) यहि चैत २७ र २८ गते रुपन्देही जिल्लाको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा हुने आयोजकले जनाएको छ।
“One Health Pathways for Sustainable Livestock and Food Security” भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढंगले उजागर गर्ने अपेक्षा गरिएको छ। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहनेछ।
सम्मेलनका मुख्य आकर्षणहरूमा विभिन्न प्राविधिक सत्रहरू, अनुसन्धान प्रस्तुतिहरू, प्यानल छलफल तथा अनुभव आदान–प्रदान कार्यक्रमहरू समावेश छन्। आयोजकका अनुसार १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने तथा १० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ। साथै १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनका प्रभावजस्ता विषयमा आफ्ना धारणा प्रस्तुत गर्नेछन्।
विद्यार्थीहरूको क्षमता विकासलाई प्रोत्साहन गर्न “स्टुडेन्ट पोस्टर प्रतियोगिता” पनि आयोजना गरिनेछ, जहाँ उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, पशु स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान पुर्याएका अनुभवी पशु चिकित्सकहरूलाई विशेष सम्मान गरिने डा. शंकर न्यौपाने ले जानकारी दिएका छन्।
उक्त अवसरमा पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरू तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका व्यवसायिक तथा प्रविधि प्रदायक संस्थाहरूको सक्रिय सहभागिता रहनेछ। सम्मेलन परिसरमा विविध प्रदर्शनी स्टलहरू राखिनेछन्, जहाँ पशु स्वास्थ्य, औषधि, खोप, आहार तथा आधुनिक प्रविधिहरूको प्रदर्शन गरिनेछ।
सम्मेलनलाई Food and Agriculture Organization (FAO), U.S. Soybean Export Council, नेपाल भेटेरिनरी काउन्सिल लगायत विभिन्न सरकारी तथा पेशागत संघसंस्थाहरूको सहयोग रहनेछ।
सम्मेलनले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान तथा नवीन प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै एसोसिएसनका केन्द्रिय अध्यक्ष डा. केदार सुबेदी ले “एक स्वास्थ्य” अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताएका छन्। साथै सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै भविष्यका लागि सशक्त मार्गनिर्देशन प्रदान गर्ने विश्वास गरिएको छ।