काठमाडौँ, ५ चैत्र २०८२ः
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा शुक्रबार र शनिबार भारी वर्षा तथा तीव्र हुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न र अनावश्यक आवतजावत नगर्न विशेष अनुरोध गरिएको छ।
यसैबीच जल तथा मौसम विज्ञान विभाग ले भोलि (शुक्रबार) र पर्सि (शनिबार) कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ। त्यसैगरी, शुक्रबार लुम्बिनी प्रदेश अन्तर्गत दाङ, नेपालगञ्ज लगायतका तराई क्षेत्रमा तीव्र गतिमा हुरी चल्ने अनुमान गरिएको छ।
विभागका अनुसार शनिबारसम्म विराटनगर, धरान र धनकुटा आसपासका क्षेत्रमा प्रतिघण्टा ११९ किलोमिटरसम्मको हुरी चल्न सक्ने चेतावनी दिइएको छ। यसले रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम बढाएको छ।
प्राधिकरणका उपसचिव रामबहादुर केसी ले प्रभावित क्षेत्रका बासिन्दा तथा यात्रुलाई अनावश्यक यात्रा नगर्न, सवारी साधन सञ्चालनमा सतर्कता अपनाउन, घरभित्र सुरक्षित रहन र इन्धन तथा विद्युत् उपकरण प्रयोगमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।
विभागले मौसमसम्बन्धी नियमित पूर्वानुमान तथा सतर्कता जारी गर्दै आएको जनाउँदै सबैलाई आवश्यक सावधानी अपनाउन पुनः अनुरोध गरेको छ।
