अधिकारभन्दा कर्तव्यमा जोड दिन मुख्यमन्त्री बानियाँको आह्वान

काठमाडौँ, ५ चैत २०८२ः

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशको समृद्धि र सुशासनका लागि अब अधिकारभन्दा कर्तव्यको मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को ११औँ महाधिवेशनको उद्घाटनसत्रलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले आदिबासी जनजातिसहित सबै नेपालीलाई अधिकारको लडाइँभन्दा कर्तव्यको लडाइँमा केन्द्रित हुन आह्वान गरे। “अब अधिकारको मात्रै कुरा होइन, कर्तव्यको सवाल पनि उत्तिकै महत्त्वपूर्ण छ। मानवता र समृद्धिका लागि सबै नेपाली एक हुनुपर्छ,” उनले भने।

संघीय व्यवस्थाले सबै जाति, वर्ग र समुदायलाई नेतृत्वमा पुग्ने अवसर दिएको उल्लेख गर्दै उनले नयाँ संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए। आदिबासीको पहिचान जोगाउँदै कर्तव्यमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। उनले राज्यबाट पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार आयोग लाई थप सशक्त बनाउनुपर्ने तर अन्य संवैधानिक आयोगको आवश्यकता नरहेको तर्क गरे।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा ले आफ्नो कार्यकालमा महासंघको भवन निर्माण गर्ने लक्ष्य पूरा गर्न जग्गा व्यवस्थापनमा प्रगति भएको जानकारी दिए। हालसम्म १४ आना जग्गा जुटाइएको र थप ५ आना खरिद गर्ने प्रतिबद्धता उनले जनाए।

संस्थापक महासचिव तथा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर ले आदिबासी आन्दोलनकै कारण मुलुकमा संघीय व्यवस्था सम्भव भएको उल्लेख गरे। आदिबासी जनजाति आयोगका सदस्य रामबहादुर थापा मगर ले आदिबासी अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। पूर्वमन्त्री सीता गुरुङ ले राज्यका सबै संयन्त्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राखिन्। राष्ट्रिय सभाकी सदस्य रोशनी मेचे ले विविधतायुक्त नेपाली समाजमा सबै समुदायको अधिकार समान रूपमा सम्बोधन गर्नुपर्ने बताइन्।

कार्यक्रममा विभिन्न जातीय समुदायका सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो। उद्घाटनअघि भृकुटीमण्डपमा सांस्कृतिक प्रदर्शन गरिएको थियो भने महासंघको बन्दसत्र शुक्रबारबाट सुरु भई २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!