काठमाडौँ र नवलपरासी पश्चिममा उच्च संक्रमण, HPAI भने नदेखिएको पुष्टि
काठमाडौँ , ५ चैत्र २०८२ः
नेपालमा पक्षी स्वास्थ्य सुरक्षासम्बन्धी पछिल्लो परीक्षणले बर्ड फ्लु अर्थात् Avian Influenza को अवस्था चिन्ताजनक तर नियन्त्रणमै रहेको संकेत दिएको छ।
केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रयोगशाला बुलेटिनका अनुसार १२ जिल्लाबाट संकलित २८ नमुनामध्ये १९ वटा नमुनामा Low Pathogenic Avian Influenza (LPAI) पुष्टि भएको छ भने High Pathogenic Avian Influenza (HPAI) भने सबै नमुनामा नकारात्मक देखिएको छ।
qPCR प्रविधिबाट गरिएको परीक्षण अनुसार संक्रमण १० जिल्लामा फैलिएको देखिएको छ। विशेषगरी नवलपरासी पश्चिममा ५ वटा र काठमाडौँमा ४ वटा केस देखिँदा यी क्षेत्र उच्च जोखिममा परेका छन्।
त्यस्तै चितवन, दाङ, झापा, काभ्रे, कास्की, ललितपुर, मोरङ र सुनसरीमा १–२ केस मात्र देखिएकोले यी क्षेत्रहरूमा संक्रमण न्यून रहेको जनाइएको छ।

प्रजातिगत हिसाबले हेर्दा, सबैभन्दा धेरै संक्रमण कमर्शियल लेयर कुखुरामा देखिएको छ। त्यसपछि ब्रायलर, ब्रोइलर प्यारेन्ट र अन्य कुखुरा समूहमा पनि संक्रमण पुष्टि भएको छ। यसले व्यवसायिक पोल्ट्री फार्महरू अझ बढी जोखिममा रहेको स्पष्ट पार्छ।
यद्यपि, उच्च घातक प्रकारको HPAI नदेखिनु राहतको विषय भए पनि LPAI को व्यापक फैलावटले सतर्कता अपनाउनुपर्ने संकेत दिएको विज्ञहरू बताउँछन्।
पक्षीपालन व्यवसायीलाई जैविक सुरक्षा (biosecurity) कडाइका साथ लागू गर्न, इमुनोमोडुलेटर खाध्यपुरकको प्रयोग गर्न, फार्ममा बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न र नियमित स्वास्थ्य निगरानी गर्न आग्रह गरिएको छ।
हालको अवस्थाले बर्ड फ्लु नेपालमा फैलिने क्रममा रहेको देखिए पनि घातक रूप नदेखिएकोले तत्काल ठूलो संकट भने नदेखिएको विज्ञहरूको भनाइ छ। तर, समयमै नियन्त्रण नगरेमा भविष्यमा जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।