नवलपुर, ७ चैत्र २०८२ः
लगातारको वर्षाका कारण चिप्लो बनेको बाटोमा सवारी साधन गुड्न नसक्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा लामो जाम लागेको छ।
उकालो क्षेत्रमा सडक हिलाम्य र चिप्लो बनेपछि सवारी साधन चिप्लिएर अघि बढ्न नसक्दा दुम्किवाससम्म गाडीको लाइन लागेको इलाका प्रहरी कार्यालय दुम्किवासले जनाएको छ।
जामको समस्या नहोस् भनेर पूर्वबाट पश्चिमतर्फ जाने ठूला तथा मालवाहक सवारी साधनलाई कावासोती क्षेत्रमै रोकिएको छ। लगातारको वर्षाले सडकको अवस्था बिग्रिएपछि सडक आयोजनाले विगत तीन दिनदेखि रातिको समयमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको थियो।
तर, वर्षा नरोकिने र सडकको अवस्था सुधार नहुँदा गाडीहरू अझै सोही क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। चालकहरूलाई खानपानमा समस्या नहोस् भनेर शहर नजिकैका जंगल क्षेत्रमा सवारी साधन व्यवस्थापन गरिएको उहाँको भनाइ छ।
शुक्रबार दिउँसोदेखि परेको वर्षाले सडक झनै चिप्लो बनेपछि ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। विशेष गरी पैसट्ठीमोड र विश्वकर्मा मन्दिर आसपासको क्षेत्रमा बढी समस्या देखिएको प्रहरीले जनाएको छ।
साँझदेखि वर्षा रोकिएकाले अब क्रमशः सडक खुलाउने प्रयास भइरहेको दुम्किवास प्रहरीले जनाएको छ। साथै, अप्ठेरो बाटोमा जबरजस्ती ओभरट्याक गर्ने प्रवृत्तिले पनि समस्या बढाएको प्रहरी उपरीक्षक खड्काले उल्लेख गर्नुभयो।
तस्बिर : बोमलाल गिरी