कोशी प्रदेशमा बर्डफ्लु पुष्टिः उच्च सतर्कता अपनाउन नेभ्लाको आग्रह

काठमाडौं, ९ चैत्र २०८२ः

नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशनले कोशी प्रदेशका विभिन्न जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएपछि गम्भीर ध्यानाकर्षण जनाएको छ।

संघका अध्यक्ष राम्र प्रसोद मेहताद्वारा जारी विज्ञप्तिमा रोग नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सम्पूर्ण सरोकारवालाहरूलाई आग्रह गरिएको छ। संघ, प्रदेश तथा स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय गरी नियन्त्रणका काम तीव्र बनाउनुपर्नेमा जोड दिइएको छ।

विज्ञप्तिमा रोग नियन्त्रणमा खटिएका प्राविधिक जनशक्ति तथा सुरक्षा निकायको भूमिकाको उच्च प्रशंसा गर्दै उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको छ।

पोल्ट्री क्षेत्रले देशमा रोजगारी सिर्जना, मासु तथा अण्डामा आत्मनिर्भरता र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको अवस्थामा बर्डफ्लुको संक्रमणले ठूलो आर्थिक क्षति पुर्‍याउने जोखिम रहेको संघले जनाएको छ।

संघले विशेषगरी प्रभावित तथा उच्च जोखिमयुक्त क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसार नगर्न/नगराउन सबै निकायलाई आग्रह गरेको छ। साथै, सम्बन्धित निकायहरूले जारी गरेका मापदण्ड तथा निर्देशनहरूको पूर्ण पालना गर्न समेत अपिल गरिएको छ।

संघले आफ्ना सम्पूर्ण प्राविधिक जनशक्तिलाई एकजुट भई बर्डफ्लु नियन्त्रण अभियानमा सक्रिय रूपमा लाग्न आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!