बर्ड फ्लु नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अपिल

काठमाडौं, ११ चैत्र २०८२ः

मोरङ जिल्लामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि नेपाल पशुपन्छी औषधि व्यवसायी संघले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल सरकार, पशु सेवा विभागका अनुसार सुन्दरहरैचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुराको नमुना परीक्षणका क्रममा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (H5N1) संक्रमण पुष्टि भएको हो। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा मोलिक्युलर विधिबाट गरिएको परीक्षणमा चैत ४ गते नै संक्रमण देखिएको जनाइएको छ।

उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै संघले रोगबाट हुन सक्ने सम्भावित क्षति तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै तत्काल प्रभावकारी नियन्त्रण तथा व्यवस्थापनका उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। संघले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला निकायलाई समन्वयात्मक रूपमा सक्रिय हुन अपिल गरेको छ।

साथै, बर्ड फ्लु पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म विश्व पशु स्वास्थ्य संगठन (WOAH) तथा पशु सेवा विभागले जारी गरेका मापदण्ड, निर्देशन र नियन्त्रणसम्बन्धी प्रावधानहरूको पूर्ण पालना गर्न आग्रह गरिएको छ। जोखिमयुक्त तथा प्रभावित क्षेत्रबाट कुखुरा र कुखुराजन्य उत्पादन तथा सामग्रीको ओसारपसार नगर्न पनि संघले चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!