सुनसरी, १९ चैत्र २०८२:
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा Avian Influenza (H5N1) (बर्ड फ्लु) पुष्टि भएपछि संक्रमण नियन्त्रणका लागि ‘चार किल्ला’ लागू गरेको छ। प्रशासनले इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका र गढी गाउँपालिकाका कुखुरा फार्ममा बर्ड फ्लु देखिए पछि रोग थप फैलिन नदिन प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै कडाइ गरिएको जनाइएको छ।
‘चार किल्ला’ लागू भएसँगै प्रभावित क्षेत्रभित्र कुखुरा, चल्ला, अण्डा र मासुको ओसारपसार पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। साथै कुखुरा पालनसँग सम्बन्धित दाना, भाँडा, सुली लगायत सामग्रीको आवतजावतमा समेत रोक लगाइएको छ।
प्रशासनका अनुसार संक्रमित क्षेत्रबाट अन्य पालिका तथा जिल्लामा कुखुरा तथा कुखुराजन्य पदार्थ लैजान पाउदैन। रोग नियन्त्रणका लागि अनुगमन, डिसइन्फेक्सन तथा संक्रमित कुखुरा नष्ट गर्ने कार्यसमेत तीव्र पारिएको छ।
बर्ड फ्लु मानिसमा समेत सर्न सक्ने जोखिम रहेकाले किसान, व्यवसायी र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शंका लागेमा सम्बन्धित निकायलाई जानकारी दिन तथा अनधिकृत ढुवानी नगर्न प्रशासनले चेतावनी दिएको छ।
