ललितपुर – बदलिँदो जीवनशैली र असन्तुलित खानपानका कारण नेपालमा कलेजोसम्बन्धी रोगीहरूको संख्या बढ्दै गइरहेको अवस्थामा, नेपाल मेडिसिटी अस्पतालले अत्याधुनिक ‘लिभर फाइब्रो–स्क्यान’ सेवा सुरु गरेको छ।
यस सेवामार्फत सर्वसाधारणले अस्पताल भर्ना नभई, छिटो, पीडारहित र भरपर्दो तरिकाले आफ्नो कलेजोको स्वास्थ्य परीक्षण गर्न सक्नेछन्। फाइब्रो–स्क्यान प्रविधिले कलेजोको कडापन (स्टिफनेस) र बोसोको मात्रा केही मिनेटमै पत्ता लगाउने सुविधा प्रदान गर्छ।

यो परीक्षणमा सुईँ घोच्नु पर्ने, चिरफार गर्नुपर्ने वा दुखाइ सहनुपर्ने अवस्था हुँदैन। परम्परागत लिभर बायोप्सीको तुलनामा यो विधि सरल, सुरक्षित र सटिक मानिन्छ। परीक्षणको नतिजा तुरुन्तै प्राप्त हुने भएकाले चिकित्सकहरूले बिरामीलाई तत्काल परामर्श दिन सक्नेछन्।
अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख प्रा. डा. उमिद कुमार श्रेष्ठका अनुसार, आधुनिक जीवनशैली नै कलेजो रोग बढ्नुको मुख्य कारण हो। उहाँका अनुसार शारीरिक व्यायामको कमी, प्रशोधित तथा होटलका खानाको अत्यधिक प्रयोग, मद्यपान, मोटोपन र मधुमेहजस्ता कारणले फ्याटी लिभर रोग र सिरोसिस जस्ता समस्या निम्त्याउँछन्। अझ चिन्ताजनक कुरा के भने, धेरैजसो बिरामीमा रोग जटिल अवस्थामा नपुगेसम्म कुनै लक्षण देखिँदैन।
स्वास्थ्य विज्ञहरूका अनुसार नियमित मदिरा सेवन गर्ने, बाहिरको खाना बढी खाने वा निष्क्रिय जीवन बिताउने व्यक्तिहरू उच्च जोखिममा पर्छन्, त्यसैले उनीहरूले नियमित कलेजो जाँच गराउनु आवश्यक छ।
फाइब्रो–स्क्यान मार्फत प्रारम्भिक चरणमै रोग पत्ता लागेमा कलेजोलाई पुनः स्वस्थ अवस्थामा फर्काउन सकिने सम्भावना उच्च हुन्छ। यसले गम्भीर जटिलताबाट बच्न समयमै सावधानी अपनाउन मद्दत पुर्याउँछ। रोगको पहिचान मात्र नभई, यो परीक्षणले मानिसहरूलाई मानसिक शान्ति समेत प्रदान गर्छ । धेरैका लागि यो सामान्य जाँच आफ्नो स्वास्थ्यप्रति सचेत हुन वा स्वस्थ बानी बसाल्नका लागि एउटा ’वेकअप कल’ (सचेतना) पनि हुन सक्छ ।
निवारक स्वास्थ्य सेवालाई प्रोत्साहन गर्न अस्पतालले यो सेवामा मे १, २०२६ सम्म २० प्रतिशत छुट समेत उपलब्ध गराएको छ।